• 5:34 pm

उपनिर्वाचन : रास्वपाबाट तनहुँ १ मा स्वर्णिम वाग्लेको चर्चा, नेताहरू भन्छन्- ‘सर्प्राईज दिन्छौँ’

प्रकाशित मिति

२०७९ चैत्र १६ गते, बिहीबार ०२:५९

१६ चैत्र २०७९, काठमाडौँ: आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तनहुँ १ बाट कांग्रेसनिकट नेता स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने चर्चा छ । यसबारे सोधिएको प्रश्नमा प्रश्नमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियाले वाग्लेसँग धेरै चरण छलफल भएको बताए । ‘उहाँ (स्वर्णिम वाग्ले) सँग धेरै चरण छलफलचाहिँ गरेका हौँ,’ उनले भने, ‘पूर्णत: कुरा मिलिसकेको छैन ।’


तनहुँ १ र बारा २ मा उम्मेदवार टुङ्ग्याउन बाँकी रहेको उल्लेख गर्दै प्रमुख सचेतक परियारले २/३ दिनभित्र टुङ्गिने बताए । ‘चितवन २ मा त पहिल्यै भइसकेको हो । अब तनहुँ र बाराको बाँकी छ । त्यो पनि केही दिनभित्रै हुन्छ,’ उनले भनेका छन् ।


महामन्त्रीसमेत रहेका प्रवक्ता डा. मुकुल ढकालले तनहुँ १ को रास्वपाको उम्मेदवारीले ‘भाईब्रेसन’ उत्पन्न गर्ने बताउँछन् । ‘तनहुँ १ को उम्मेदवारको नामले एकखाले भाईब्रेसन ल्याउँछ । यसबारे अहिल्यै केही नभनौँ । २ या ३ दिनभित्र थाहा हुन्छ,’ उनले भने । अहिले वाग्ले रास्वपा नेता शिशिर खनालसँग तनहुँ १ कै वस्तुस्थिति बुझिरहेको बताइन्छ । वाग्लेले भने आफू व्यस्त रहेको बताउँदै बोल्न मानेनन् ।


गत मंसिर ४ को निर्वाचनमा तनहुँ १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका थिए । उनी कांग्रेस त्याग्दै राष्ट्रपति बनेपछि त्यो क्षेत्र प्रतिनिधिविहीन छ । यसपछी त्यहाँ आउँदो १० गते निर्वाचन हुन लागेको हो ।

प्रतिकृया