बारा २ मा राजेन्द्र महतोले उपेन्द्र यादवसँग प्रतिस्पर्धा गर्ने
प्रकाशित मिति
२०७९ चैत्र १६ गते, बिहीबार ०१:४९

१६ चैत्र २०७९, काठमाडौँ: बारा २ को उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट राजेन्द्र महतो उम्मेदवार बन्ने भएका छन्। लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।
मंसिर ४ को निर्वाचनमा नेता महतो सर्लाही–२ बाट पराजित भएका थिए। उनी नेसपाका महेन्द्रराय यादवसँग चुनाव हारेका हुन्। बारा २ बाट जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि उम्मेदवारी दिने तय भएको छ।
जसपाको विस्तारित बैठकबाट उपेन्द्रको एकल नाम सिफारिस गरिएको छ। यस्तै जनमत पार्टीले माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । त्यसका लागि कुशवाहा जनमत प्रवेश गरिसकेका छन् । यसअघि जनमत पार्टीले महतोलाई चुनाव लड्न आग्रह गरेपनि महतोले मानेका थिएनन्। अहिले आएर भने उनी चुनाव लड्ने निर्णयमा पुगेका हुन् ।
बारा २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
प्रतिकृया