जनसंख्याको हिसाबले भन्दा पनि भूगोलको हिसाबले दक्षिणकाली नगरपालिकामा बजेट विनियोजन भए विकासका काम गर्न सजिलो हुने थियो : नगर प्रमुख मोहन बस्नेत (भिडियाे)

सुमित्रा अधिकारी
प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ०३:१५

mohan 1

ऐतिहासिक, धार्मिक,सांस्कृतिक र पर्यटकीय स्थलका रुपमा परिचित रहेको दक्षिणकाली नगरपालिका काठमाडौँबाट १८ कि.मी.को दुरीमा रहेको छ । यस नगरपालिका धार्मिक, पर्यटकीय तथा आर्थिक रुपले आफैँमा आत्मनिर्भर रहने सम्भावना बोकेको नगरपालिका हो । नेपालकै एउटा प्रमुख धार्मिक मन्दिर दक्षिणकाली, नेपालको पहिलो विद्युत फर्पिङ (चन्द्रज्योती) विद्युत, नेपालको पुरानो मध्यको एक फर्पिङ पाठशाला (हाल फर्पिङ मावि), चार नारायण मध्यको एक शेषनारायण, गोपालेस्वर पिठ, असुरा गुफा, पद्मसम्भव गुफा, केही सुबिधासम्पन्न रिसोर्टहरू, हरियाली वातावरण यहाँको विशेषताका रूपमा रहेका छन् । यसै दक्षिणकाली नगरपालिकाको विकास, यसमा देखिएका समस्या, चुनौतहरु, समाधान र संभावनाको विषयमा नगर प्रमुख मोहन बस्नेतले मातृभूमिन्युज डटकमका संवाददाता सुमित्रा अधिकारीसँग गरेको कुराकानीकाे सम्पादित अंशः


नगरवासीले फेरि पनि हजुरलाई नै दोश्रो पटक नगर प्रमुखको रूपमा चुनेका छन् । विगतमा गरेका के कति कार्यलाई कसरी निरन्तरता दिने सोंच्नु भएको छ ?

नगरवासीले दोश्रो पटक पनि पाँच वर्ष काम गरेर अनुभव हासिल गरिसकेको नगर प्रमुखलाई मतदान गरेर विजयी गराउँदा विकासका कामले निरन्तरता पाउने अपेक्षा पुरा गराउन विजयी गराएका हुन् । निर्वाचन पश्चात मलाई विगतमा भएका धेरै अपूरा कामलाई पूरा गर्नको लागि प्रशस्त समय मिलेको छ र यो कार्यकालमा सबै अपुरा अधुरा कामलाई पुरा गर्ने छु ।

पहिलो कार्यकालमा तपाईले जनतासँग गरेका प्रतिबद्धताले के कति पूणता पाए ?

सबै भन्दा ठूलो कुरापहिलो कार्यकालमा जति कार्य पुरा गर्न सके र जति बाँकी रहेका छन् ती कामलाई निरन्तरता दिनेछु । यो बीचमा केही अधुरा कार्य रहेको छन् भन्ने स्वयम मतदातालाई थाहा छ र मैले आफै पनि अनुभव गरेको छु । दोेस्रो पटक निर्वाचित भएको पनि एक बर्ष पूरा हुन लागि सक्यो र यो बीचमा धेरैवटा विकास निर्माणका कार्यहरु जस्तो वडामा बाटो आदि निर्माणका कार्यहरुलाई पूरा गरेको छु । खानेपानीका योजनाहरु अगाडि बढीरहेका छन् । यसमा केही सम्पन्न भइसकेका छन् भने केही बाँकी छन् । यसरी नै हाम्रो नगरपालीका राजधानी सँगै हुनुको बाबजुद यसको भूगोल अत्यन्तै विकट भएकाले विकास निर्माणका कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिई रहेका छौँ ।

दक्षिणकाली नगरपालिकामा मुख्य समस्याहरु के के रहेका छन् जसलाई तत्काल सम्बोधन गर्नुपर्नेछ । सम्बोधन र समस्याको समाधानका लागि के कस्ता कार्ययोजना तयार पार्नु भएको छ ?

दक्षिणकाली नगरपालिकाको मुख्य सम्स्या भनेको संघीय सरकारको अधिकार भित्र रहेका पनि समस्या हुन् । तिनै तहको सरकारको जिम्मेवारीमा रहेका समस्या पनि दक्षिणकालीले भोग्नु परेको अवस्था छ । उदारणका लागी काठमाडौँबाट दक्षिणकाली, दक्षिणकालीबाट हेटौँडा जाँदा तीन तहको सरकारको जिम्मेवारीसँग यो कुरा जोडिन्छकिनभने यो बाटो संघिय सरकारले निर्माण गर्नुपर्ने हो ।काठमाडौँ दक्षिणकाली सडक चाहिं संघिय सरकारले निर्माण गर्नुपर्नेर दक्षिणकालीबाट मकवानपुर जोड्ने सडक चाहिं प्रदेश सरकार अन्तर्गतको जिम्मेवारीको सडक हो । तर बाटो खराब हुँदा र व्यवधान सामना गर्दा र असहजिलो हुँदा स्थानीयले नगरपालिकालाई गुहार्ने गरिएको छ । यसरी तिनै तहको जिम्मेवारीलाई अनुभूति गरेर काम गर्नुपर्ने जुन परिस्थिति छ यो चाहिं अत्यन्तै असहजता भित्र सहजता खोज्नु पर्ने स्थिति हो । यद्धपि अहिले हामीले संघिय सरकारलाई यो असहजतालाई अब अतिभयो, काम गर्न प¥यो भनेर सरकारबाट दक्षिणकालीका लागी १० करोड बजेट विनियोजन गरेर ठेक्का टेन्डरमा गइ सकेको अवस्था छ र दुवै मकवानपुर हेटौडा जाने बाटोमा पनि बजेट विनियोजन भएर ठेक्काको काम सुरु भइराखेको छ ।यो सम्पन्न गरिसकेपछि गाँउ घरमा हुने साना तिना बाटाहरुमा पनि हामी काम गर्दै छौँ ।

स्वास्थ्य क्षेत्रमा विशेष गरि महिला र जेष्ठ नागरिकको लागि के कस्ता योजना रहेको छ ?

स्वास्थ्य क्षेत्रको कुरा गर्ने हो भने महिलाहरुको लागि विभिन्न खालको स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविरहरु नगरपालिकाले बेलाबेलामा संचालन गर्ने गरेको छ । हाम्रो सम्पर्कमा अनुभवी डाक्टरहरु पाँच पाँच जना छन् र उहाँहरुलाई समय समयमा लगेर पनि उपचार गराउँछौँ र शिविरमा पनि ल्याउँछौं । जेष्ठ नागरिकका लागि नगरपालिकाले बर्षको कार्यतालिका बनाएरनै महिनाको एक दिन जेष्ठ नागरिकको घर सम्म स्वस्थकर्मी पुग्ने र उहाँहरुलाई न्यूनतम केही औषधि घरमै उपलब्ध गराउन सकिने व्यवस्था मिलाएका छौँ ।

शिक्षाको विकासको लागि नगरको तर्फबाट के कस्ता कामहरु भैरहेका छन् ?

शिक्षाका विकासको लागी नगर भित्र रहेका सरकारी, सार्वजनिक र संथागत यी तिनै तहका विद्यालयहरुलाई नगरले सक्ने किसिमको सहयोग गरेको छ । तर सरकारी विद्यालयमा चाहिं त्यहाँका भौतिकसंरचना सुधारदेखि हिजोका दिनमा रहेको टिनको छानो भएका विद्यालय भत्काएर पक्की भवन निर्माण गरिसकिएको छ र गुणस्तर शिक्षाका लागी शिक्षकहरुलाई तालिम दिइरहेका छौँ । विद्यालयमा खाजा कार्यक्रम अन्तर्गत गुणस्तरीय खाजाको व्यवस्था गरिएको छ । यती मात्रै नभएर स्थानीय पाठ्यक्रमबाट अध्ययन अध्यापन गराउने काम पनि अघि बढाएका छौँ । यसरी पाठ्यक्रम मात्रै होइन यो आउने शैक्षिक सत्र देखि स्थानीय पाठ्यपुस्तक उपलब्ध गराउने पनि काम गरिरहेका छौं ।

नगरपालिकालाई सूचना प्रविधिमैत्री बनाउन के कस्ता कदम चाल्नु भएको छ ?

सूचनाका हकमा नगरपालिकामा सूचना अधिकारी तोकेका छौं । सूचनाको हक चाहनेहरुका लागि सूचना उपलब्ध गराउने र अन्य सूचनाहरु हाम्रो वेब साइटबाट नगरमा हुने हरेक क्रियाकलाप राख्ने गरी व्यवस्था मिलाएका छौँ ।

नगरको विकासको निम्ति तपाईले पहिचान गरेका चुनौतहरु के कस्ता रहेका छन् ?

भौगोलिक विकटता नै हाम्रो एउटा चुनौती हो । भौगोलिक विकटताको समाधान भनेको विकासबाट समृद्धि हासिल गर्नु हो जसलाई हामीले चुनौतीपूर्ण रुपमा लिएका छौं । चुनौती हुँदा हँुदै पनि त्यसलाई सामना गर्न सकिन्छ भन्ने अठोट हामीले लिएका छौं । यो चुनौती सामना गर्न तिनै तहको सरकारसँग साझोदारीको वातावरण सिर्जना गरेर काम गर्दाखेरी अलिकता ढिलो भएता पनि हाम्रो यी चुनौती सामना गर्न सक्छौँ भन्ने विश्वास गरेका छौँ ।

पर्यटकीय सम्भावना बोकेको दक्षिणकाली नगरपालिकामा पर्यटन विकासको लागि के कस्ता योजनाहरु अघि सार्नु भएको छ ?

काठमाडौँ उपत्यकाबाट करिब सोह् देखि अठार किलो मिटरमा आउँदा एकदमै पवित्र स्थल दक्षिणकाली माताको मन्दिर अवस्थित छ । किंवदन्ती अनुसार यहाँ तेतिसकोटी देवि देवताको मन्दिर छ भन्ने गरिन्छ र त्यस भित्रको पनि लोकप्रिय मन्दिर दक्षिणकाली, गोपालेश्वर , शेषनारायण, गोरखनाथ,वज्रयोगीनी देखि अन्य लोकप्रिय मन्दिरहरु भएको यो ठाँउ हो ।काठमाडौँमा उकुसमुकुस हँुदा मनको आनन्दका लागि पनि उपयुक्त ठाँउ रहेको छ । यतिमात्रै नभएर हाम्रो भूगोल यस्तो भूगोल छ कि चम्पादेवीको माथि टुप्पामा पुग्यो भने काठमाडौंका तिनै शहर काठमाडौँ, भक्तपुर, ललितपुर लगायत किर्तिपुर पनि राम्रोसँग नियाल्न सकिन्छ । यो भूमि निकै पवित्र छ । अहिलेको अवस्थामा आन्तरिक र वाह्य पर्यटकहरुले त्यो दृश्य अवलोकन गर्नको लागि हामी पदयात्राको पनि कार्यक्रम गर्दैछौं । यसरी यी धार्मिक र अन्य पर्यटकहरुलाई नगरक्षेत्रमा ल्याउन सकेमा आर्थिक समृद्धिको बाटो यो हो भनी ठम्याएका छौं ।

दक्षिणकाली नगरपालिका आफैमा धार्मिक क्षेत्र रहेकाले यहाँ आउने आन्तरिक र वाह्य पर्यटकलाई बसोबास देखि सरसफाइमा कस्तो व्यवस्था रहेको छ रु

यथेष्ट त हामीले ग-यौं भनेर भन्न सकेको त छैन ।सरसफाईका हिसाबमा हामी सचेत भएर अघि बढिरहेका छौं । दैनिक रुपमा सरसफाइ गर्ने गराउने गरेका छौँ । बसोबासका लगी सुविधाजनक होटल खोल्न सकेका छैनौ । भविष्यमा वास बस्न आउने भक्तजनको लागि बस्ने व्यवस्था मिलाउने योजना गरेका छौं ।

नगर प्रमुखका हिसावले स्थानिय जनप्रतिनिधिहरूलाई के –कस्ता प्रशिक्षेण गराउनु भएको छ ?

हामी जनप्रतिनिधि भनेको जनताकोसेवक हौँ । पदका हिसावले विभिन्न तहमा भएता पनि अन्ततः हामीले बुझनु पर्ने कुरा केहो भने हामी जनताका सेवक हौं । सेवकले गर्नुपर्ने व्यवहारमा हामीे नचुकौं । त्यसो ग¥यौं भने हामी कालान्तर सम्म जनप्रतिनिधि बन्छु भन्यो भने पनि साथ र सहयोग मिल्छ । अहिल्यै म केही बनी सकेंभनेर घमण्ड गर्याे भने त्यो जनतालाई सह्य हुँदैन । यस्ता खालका कुराहरु बेला बेलामा हामीले भन्ने गरेका छौँ ।

यस नगरपालिकामा तत्कालै सम्बोधन नगरि नहुने प्राथमिकतामा परेका कुन कुन कुराहरु रहेका छन् ?

यो नगरपालिकाको तत्कालै सम्बोधन नगरि नहुने समस्या भनेको काठमाडौँ दक्षिणकाली देखि हेटौँडा सम्मको जुन बाटो छ जसमा सबै निकायका ठूला साना व्यक्तिहरुले भोगि सकेका खाल्डा र असहजको जुन परिस्थिति छ यसलाई तत्कालै सरकारले अविलम्बठेक्का पक्रियालाई एकदम छिटो बनाएर काम गर्ने परिस्थिति निर्माण गर्न सकियो भने सबैको लागि राम्रो हुन्छ । दोस्रो भनेको दक्षिणकाली नगरपालिका भूगोलको हिसाबले निकै ठुलो तर आर्थिक हिसाबले अन्य महानगरको एउटा वडालाई आउने स्रोत हामीलाई आउँछ । यस कारणले गर्दा एकदम कठिन भएको छ । यो नगरपालिकामा एउटा डाँडाको कुनामा दश घर हुन्छ अर्काे डाँडामा पाँच घर हुन्छ तर दुवैलाई खानेपानी र टेलिफोनको समस्या हुन्छ विजुलीको समस्या हुन्छ । यो समस्यालाई बुझेर जनतालाई सन्तुष्टि गराउन एकदमै कठिन छ । यो भुगोल बुझेर संघीय सरकारले भूगोललाई प्राथमिकता देओस् यहाँ जनसंख्यालाई प्राथमिकता दिंदा जनसंख्याका हिसाबले २६ हजार छौँ । यतीले पाउने अनुदान अत्यन्तै न्यून रह्यो । यसरी जनसंख्याको हिसाबले बजेट आउँदा भौगोलिक विकासमाकाम गर्न निकै कठिन हुने गरेको छ । तपाईको कार्यक्रमबाट सरकारले यो सुनेर भूगोलको आधारमा बजेट विनियोजन गरोस्, कमसेकम २, ४ करोड देओस् । तर हामीलाई जनसंख्यालाई आधार मानेर आर्थिक स्रोत आउँदा निकै कठिन भएको छ ।

मुलुकको वर्तमान राजनीतिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

मुलुकको पछिल्लो समय राजनीतिक परिवर्तन तरल ढँगले अगाडि बढेको अनुभूति गरेको छु । यसलाई संथागत गरेर राजनीतिबाट समृद्धि ल्याउन प्रयास गर्नुपर्छ । यो प्रयास एक्लैले गरेर सम्भव हुँदैन । सबै राजनीतिक कर्मीहरुले उच्च पदस्थ राजनेताहरु सबैले सोचेर यसलाई व्यवस्थितगर्न सकिएन भने यो संघियता,गणतन्त्र नेपालका लागि अफाप होला भनेर भन्ने दिन नआउला भन्न सकिन्न ।

विगत २ दशकमा मुलुकमा भएको राजनीतिक परिवर्तनका बाबजुद जनताले अनुभूति गर्ने गरि देशले विकास गर्न नसक्नुमा के कुरालाई जिम्मेवार ठान्नुहुन्छ ?

उपलब्धि नै भएन भन्ने कुरा त होइन तर जति इच्छा र चाहना गरेको हो त्यति मात्र नभएको हो । तर धेरै कुराहरु सिंहदरबारबाट घरघरमा टोलटोलमा र नगर नगरमा पुगेको कुरालाई एउटा उपलब्धि नै मान्नुपर्दछ । तर जति इच्छा र चाहाना गरेको होत्यति पूर्ण हुन नसकेकोहो ।

यो नगर आर्थिक विपन्न भएको नगरपालिका हो, हाम्रो विपन्नता लुक्दैन । यो नगरलाई पर्यटन विकासको माध्यमबाट यहाँको धर्मिक मठ मन्दीरहरुको प्रचार प्रसार गरेर यहाँको पर्यटकीय थलोहरुको प्रचार गरेर यो घुम्न जान एउटा योग्य ठाउँ हो भनेर नेपाल भरिका दाजुभाई दिदी बहिनीहरुलाई एउटा सन्देश मात्र दिन सकियो भने पर्यटनको माध्यमबाट नगरले केही श्रोत प्राप्त गर्न सक्दथ्यो ।

प्रतिकृया