• 11:22 pm

रुसले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने पुटिनको घोषणा

प्रकाशित मिति

२०७९ चैत्र १२ गते, आईतवार ११:०७

१२ चैत्र २०७९, काठमाडौँ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले आफ्नो छिमेकी र मित्र राष्ट्र बेलारुसमा रुसी आणविक हतियार तैनाथ गर्ने घोषणा गरेका छन् । राष्ट्रपति पुटिनले अमेरिकाले युरोपका धेरै ठाउँमा आफ्नो आणविक हतियार राखेको बताउँदै आफ्नो यो कदम आणविक निशस्त्रीकरण सम्झौताको उल्लंघन नहुने जिकिर गरे । यद्यपि उनले यो हतियारको नियन्त्रण भने रुसले बेलारुसलाई नदिने जनाए ।


शनिबार पुटिनले रुसी सरकारी टेलिभिजनलाई बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले रुसले बेलारुसमा पनि आफ्ना आणविक हतियार राख्नु पर्ने कुरा लामो समयदेखि भन्दै आएको बताए । उनले भने, ‘यसमा कुनै अनौठो कुरा छैन। अमेरिकाले दशकौँदेखि यो गरिरहेको छ। उसले आफ्ना सहयोगीहरूको भूमिमा रणनीतिक रूपमा महत्त्वपूर्ण हतियारहरू तैनाथ गरिरहेको छ ।’


पुटिनले बेलारुसमा सामरिक हतियार भण्डारणका लागि निर्माण भइरहेको भण्डारण इकाइको काम यसै वर्षको जुलाई १ सम्ममा सम्पन्न गर्ने बताएका छन् । राष्ट्रपति पुटिनले रुसले आणविक क्षेप्यास्त्र प्रक्षेपण गर्न आवश्यक पर्ने केही मिसाइल प्रणाली बेलारुसमा पठाइसकेको पनि बताए ।


९० को दशकको मध्यपछि रुसले आफ्नो देशबाहिर आफ्नो मित्र राष्ट्रमा आणविक हतियार तैनाथ गर्न लागेकाे याे पहिलाे पटक हाे । सन् १९९१ मा सोभियत संघको विघटनपछि रुस, युक्रेन, बेलारुस र काजाकस्तान – चार नयाँ स्वतन्त्र राष्ट्रहरूमा रुसी हतियारहरू बाँकी थिए। यी सबै हतियार रुस ल्याउने काम सन् १९९६ मा सम्पन्न भएको थियो ।


पुटिनको घोषणापछि अमेरिकाले रुसले आणविक हतियारको प्रयोगमा विचार नगर्ने कुरामा विश्वस्त रहेको बताएको छ । बेलारुस रुसको महत्त्वपूर्ण सहयोगी मानिन्छ। रुस-युक्रेन युद्ध सुरु भएदेखि नै उनले रुसलाई समर्थन गर्दै आएकाे छ ।

प्रतिकृया