कोशी खारेजी आन्दोलन: घाइते पहिचानवादी नेता पदम लिम्बुको निधन
प्रकाशित मिति
२०७९ चैत्र १० गते, शुक्रबार ११:३२

१० चैत्र २०७९, काठमाडौँ : ‘कोशी’ खारेजी’ आन्दोलनको क्रममा घाइते भएका पहिचानवादी नेता पदम लिम्बु (लाजेहाङ) को निधन भएको छ। उनको उपचारको क्रममा शुक्रबार बिहान धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा निधन भएको हो। चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश नामाकरणको विरोध प्रदर्शनको क्रममा पदम प्रहरीको कुटाइबाट घाइते भएको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ।
उनलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिरहँदा निधन भएको समितिले जनाएको छ। समितिले विज्ञप्ति जारी गर्दै पदम लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ।
‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढंगले कोशी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ’, विज्ञप्तिमा भनिएको छ।
समितिले लिम्बु हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्नसमेत माग गरेको छ । ४२ वर्षीय लिम्बु २०५२ सालदेखि लिम्बुवान आन्दोलनमा सक्रिय थिए। उनको शव बिपी प्रतिष्ठानको शव गृहमा राखिएको छ।
प्रतिकृया