नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
प्रकाशित मिति
२०७९ चैत्र ६ गते, सोमबार ०५:४०

चैत ६, २०७९, काठमाडौँ: नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ ।
सो अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तविर सिंह तुलाधर फाउण्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।भक्तविर सिंह तुलाधर फाउण्डेसनले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गर्नुभयो ।
उक्त अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ ।
छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ भक्तविर सिंह तुलाधर फाउण्डेसनले प्रहरी कल्याण कोषको
नाममा ‘नेपाल प्रहरी- भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।
उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तविर सिंह तुलाधर फाउण्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तविर सिंह तुलाधर फाउण्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया