• 12:22 pm

संसद विघटनलाई बहादुरी गरेँ भनेर बोल्नुभयो : देवेन्द्रको पौडेल

प्रकाशित मिति

२०७९ चैत्र ६ गते, सोमबार ०३:३६

२०७९ चैत ६, काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कतिपय माननीयले संसद विघटनलाई बहादुरी गरेजस्तै गरेर प्रस्तुत गरेको बताएका छन् । सोमबार संसद बैठकलाई सम्बोधन गर्दै पौडेलले विगतका गल्तीबाट सिक्नुपर्नेमा उल्टै प्रशंसा गर्नु गलत भएको बताए ।


यसअघि संसदमा केपी शर्मा ओलीले संसद विघटन गर्नु ठिक थियो भन्दै भाषण गरेपछि पौडेलले त्यसको खण्डन गरेका हुन् । ‘कांग्रेस पहिलो पार्टी हो भन्ने धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ । दोस्रो दलले पहिलो दललाई समेत सहमतिमा लिएर अघि बढौं भन्दा प्रधानमन्त्रीज्यूले राखेको कुरा कहाँ गलत गलत थियो ?’ पौडेलले भने, ‘हामी इतिहासको कठघरा जवाफ दिन तयार छौं । भविष्यका चुनौतीलाई पार लगाउन सहमति खोजिन्छ । सहमतिमा विगतका गल्तीको पुनरावृत्ति गरेर हुँदैन । इतिहासको सम्मान गर्ने हो । गल्ती भएका कुरालाई सच्याएर अघि बढ्ने हो ।’


विगतमा २२ पटक संसद विघटन भएको विषयलाई पश्चाताप नगर्नु गलत भएको पौडेलले बताए । ‘कसका कारणले संसद विघटन भयो ? संविधानको कुन धारामा लेखिएको छ ? जवाफ दिन सक्नुहुन्छ ?’ उनले भने, ‘त्यो सर्वोच्च अदालतले करेक्सन गर्यो । गल्ती भयो भनेर सच्यायो । माननीयज्यूहरु संसदमा आएर बोल्नुहुन्छ मैले बहादुरी गरे । पहिलेकै गल्तीलाई सदर गर्न यो संसदबाट निर्वाचित भएर आएको हो ?’


उनले राष्ट्रपति, उपराष्ट्रपतिजस्तो पदलाई दलीयकरण गरेर एमालेले मुलुकलाई सहमतीमै अघि बढाउने बाटो रोक्न खोजेको आरोप लगाए। त्यस अवसरमा उनले संसद विघटन गर्न नहुने सर्वोच्च अदालतको फैसलालाई नमान्ने काम एमालेबाट फेरि आएपछि आफूहरुले सो पार्टीसँगको गठबन्धन छोडने अवस्था आएको पनि दोहोर्‍याए। सांसद पौडेलले भने, ‘तर नेकपा (एमाले)सँग मेरो अनुरोध छ–नेपाली कांग्रेस भन्ने पार्टी पनि यो सदनको पहिलो पार्टी हो भन्ने कुरा तपाईहरुले धरहराबाट हेर्नुपर्छ कि सगरमाथाबाट हेर्नुपर्छ? दोस्रो दललाई सहमति चाहियो। पहिलो दललाई समेत सहमति गरेर जाऊँ भन्ने प्रधानमन्त्रीको कुरा गल्ती थियो? इतिहासको कठघरामा उभिएर हामी जवाफ दिन तयार छौं।’

प्रतिकृया