प्रधानमन्त्रीलाई एमालेको प्रश्न : प्रधानमन्त्री बन्न जुन सहमति गर्नुभएको थियो, त्यो सहमतिबाट पछि हटेर नयाँ गठबन्धनमा जानुपर्ने आवश्यकता किन पर्यो ?
प्रकाशित मिति
२०७९ चैत्र ६ गते, सोमबार ०२:५५

चैत ६, २०७९, काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको सहयात्रा छोड्नुपर्ने कारण के हो भनेर प्रश्न गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता पौडेलले ‘यदि तपाईँलाई यही सहयात्रामा जानु थियो भने पुस १० गते तपाई त्यस प्रकारको सहमतिमा किन पुग्नुभयो ?’, पौडेलले प्रश्न गर्दै भने, ‘आज तपाईँले जवाफ दिनुस् नदिनुस्, आज तपाई जवाफ नदिन सक्नुहुन्छ । तर तपाईँलाई निरन्तर प्रश्न सोधिरहनेछ ।’ उनले एउटा विन्दुमा गएर प्रचण्डले यसको जवाफ दिनै पर्ने बताए ।
‘प्रचण्डको नेतृत्वमा सरकार बन्दा कुन पृष्ठभूमिबाट अघि बढेका थियौँ त्यो पृष्ठभूमिलाई हेक्का राख्न जरुरी छ । निर्वाचनमा एकातिर गठबन्धन र अर्कोतिर एमाले भएर निर्वाचन भयो । निर्वाचनमा एमाले मतका हिसाबले पहिलो भए पनि सिटका आधारमा दोस्रो पार्टी बन्यो’, पौडेलले भने, ‘त्यसैले प्रतिपक्षमा बस्छौ भनेर भनेका थियौ । जब गठबन्धनले सरकार दिन सकेन, राष्ट्रपतिले दिएको समयभित्र पनि सरकार गठनमा गठबन्धनले सरकार दिन सकेन, त्यस परिस्थितिमा माओवादी केन्द्रका अध्यक्षले समर्थन मागेकाले सशर्त समर्थन गरेका थियौ’, पौडेलले भने, ‘राष्ट्र राष्ट्रियता र संविधानको पक्षमा उभिनुपर्छ, आर्थिक समस्या समाधान गर्नुपर्छ भन्ने सर्तमा समर्थन गर्ने प्रतिबद्धता जनाएका थियो ।’
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सहयात्री दललाई सरकारबाट घोक्र्याएर निकालिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सहमतिका लागि दिएको अभिव्यक्तिमा तालमेल नभएको बताएका छन् ।उनले ‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?’ पौडेलले भने, ‘एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए त्यसको सख्त विरोधमा एमाले रहेको छ । जनता र मुलुकले त्यस्तो राष्ट्रिय सहमति चाहेको होइन ।’
‘प्रधानमन्त्री बन्नका लागि एमालेको समर्थन लिने र प्रधानमन्त्री भएको भोलिपल्टदेखि एमालेसँग कटुता र शत्रुताको प्रयास गर्ने जुन प्रकारको कोसिस भयो, प्रधानमन्त्रीबाट राष्ट्रिय सहमति नभइ देशलाई द्वन्द्वतर्फ र सम्बन्धलाई कटुतापूर्ण र शत्रुतापूर्ण दिशातर्फ लग्ने प्रयास भइरहेका छन्,’ पौडेलले भने ।
प्रतिकृया