• १२:१५ २०८० चैत्र १६ गते
  • 12:15 pm

पैदलयात्री सचेतता अभियानमा ६३७ जना पैदलयात्रीलाई ट्राफिक प्रहरीद्वारा सम्झाई-बुझाई

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार ०१:३३

traffic police KhJXgki9Dt e1660626578326

१ चैत ,२०७९, काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ । जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले कार्डनै देखाएर ट्राफिक प्रहरीले उपत्यकाका बिभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो ।


दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई-बुझाई गरेको छ ।


सम्झाई-बुझाईका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाईएको थियो । यस्तै ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साईकलका चालकहरूलाई पनि सम्झाई-बुझाई गरेको छ । काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।



“काठमाडौँ उपत्यकामा गत आर्थिक बर्षमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आ.व.को हाल सम्म ४० जना पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले सडकमा पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहने देखिएकाले यस अभियानले पैदलयात्रीहरुमा ट्राफिक सचेतता अभिवृद्दि गर्न र ट्राफिक व्यवस्थापनमा सहजीकरण गरि दुर्घटनामा कमि ल्याउन मद्दत पुग्ने”, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनु भएको छ ।



यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो । आकाशे पुल भएको स्थानमा आकाशे पुलबाट र जेब्राक्रस भएका स्थानमा जेब्राक्रसिङबाट मात्रै सडक वारपार गर्नुहुन र ट्राफिक नियमको पालना गर्दै सवारी साधन चलाउन हुन सबै सडक प्रयोगकर्ताहरूमा प्रवक्ता भट्टले अनुरोध समेत गर्नु भएको छ ।

प्रतिकृया