• ०६:०२ २०८० फाल्गुन १२ गते
  • 6:02 am

एक सातामै ३ ओटा अमेरिकी बैंक डुबे, एसभीबी र सिल्भरगेटपछि सिग्नेचर बैंक पनि बन्द

प्रकाशित मिति

२०७९ फाल्गुन २९ गते, सोमबार ०४:२५

agency

२९ फागुन २०७९, काठमाडौँ: अमेरिकामा ठूलो मध्ये अर्को एउटा बैंक पनि धराशयी बनेको छ । न्यूयोर्कका नियामकहरुले सिग्नेचर बैंकलाई बन्द गरेका छन् । पछिल्लो एक हप्ताभित्रै बन्द गरिएको तेस्रो ठूलो बैंक हो । सिग्नेचर बैंकमा सन् २०२२ को डिसेम्बर ३१ सम्म ८८ अर्ब ५९ करोड डलर निक्षेप थियो । न्यूयोर्कको वित्तीय सेवा विभागले बैंकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।


यो क्रिप्टो उद्योगलाई कर्जा दिने दुई ओटा प्रमुख बैंक मध्ये एक थियो । बैंक धराशयी बनेसँगै यसको असर क्रिप्टो उद्योगमा पर्ने देखिएको छ । मार्च १० मा व्यावसाय बन्द हुँदासम्म प्रमुख क्रिप्टो एक्सचेञ्ज क्वाइन डेक्सको सो बैंकमा २४ करोड डलर निक्षप थियो । सिग्नेचर बैंक बन्द हुँदाको प्रभाव स्टेबल क्वाइनमा पनि देखिएको छ । सिग्नेट प्रयोग गरेर भुक्तानी प्रक्रिया अगाडि बढाउन आफूहरु असमर्थ बनेको स्टेबलक्वाइनका सीईओले एक ट्विटमा भनेका थिए ।


गएको हप्ताको अन्त्यतिर सिलिकन भ्याली बैंक बन्द भएपछि यसको असरले प्रविधि क्षेत्र त्रस्त बनेको छ । त्यहाँ लगानी रहेका क्रिप्टो कर्जा दाता र एक्सचेञ्जहरु मारमा परेका छन् । एसभी बैंकको पतनपछि गएको हप्ता सिल्भरगेट पनि टाट पल्टिएको थियो । बैंक सञ्चालन बन्द गरेर स्वेच्छिक रुपमा दामाशाहीमा गएको थियो । क्रिप्टोकरेन्सी विनिमय एफटीएक्सको पतन र समग्रमा विश्वव्यापी क्रिप्टो बजारमा मन्दी देखिँदा सिल्भरगेट क्यापिटल धराशयी बन्यो ।


धमाधम बैंकहरु टाट पल्टिने क्रम जारी रहँदा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले निक्षेपकर्ताहरुको पैसा जोगाइदिन अतिरिक्त कोष खोल्ने योजना बनाइरहेको छ । एसभी बैंकका निक्षेपकर्ताहरुले सोमवार सम्म बीमा नभएको रकम समेत फिर्ता पाउने अनि यस क्रममा करदाताले तिरेको पैसाको प्रयोग नगरिने नियामकहरुले उल्लेख गरेका छन् । एजेन्सी

प्रतिकृया