• १२:४५ २०८० फाल्गुन ११ गते
  • 12:45 pm

अहिलेको राजनीतिक विकासक्रमले हामीले नागरिकहरुलाई कत्तिको खुशी बनाउन सकेका छौं भन्ने कुरामा हामीले विचार गर्नुपर्दछ: गगन थापा

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ०३:२२

335589648 900037391305281 1858530958799491129 n

२८ फागुन २०७९, काठमाडौँ: आज काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजोन) ले वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता विषयक अन्तरक्रिया संचालन गरेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, सेजोनका अध्यक्ष जनार्दन बराल तथा वरिष्ठ अर्थविद् गोविन्द नेपालले आफ्नो मन्तव्य राखेका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दै सेजोनका अध्यक्ष जनार्दन बरालले भने, “नेपाल आर्थिक पत्रकार संघले मुलुकको अर्थतन्त्रको बारेमा विभिन्न किसिमका बहसहरु गर्दै आइरहेको छ । विगत डेढ दुई वर्षदेखि मुलुकको अर्थतन्त्रमा विभिन्न किसिमका समस्याहरु देखा परे । विदेशी मुद्राको संचिती कम भयो । हाम्रो नजिकको छिमेकी मुलुक श्रीलंकाको अर्थतन्त्र पुरै कोल्याप्स भयो र नेपाल पनि त्यस्तै हुन्छ कि भन्ने डर, त्रास फैलिएको थियो । अहिले आएर डिमाण्डसँग सम्बन्धित, राजस्वसँग सम्बन्धित समस्याहरु देखा परेका छन् । यी विषयमा हामीले निरन्तर छलफल गर्दै आइरहेका छौं । गत साल हामी पहिलो सिरिजको वे फरवार्ड भन्ने कार्यक्रम गरेका थियौं । हामीले हाम्रो देश श्रीलंका बन्छ कि बन्दैन भन्ने कुरा छलफल गरेका थियौं । त्यसले जनताको डर, त्रास हटाउन सहयोग गरेको थियो ।”


उनले पुनः भने, “गएको मंसिरमा चुनाव भएको थियो, सरकार कस्तो बन्छ भन्ने थाहा थिएन । यस विषयमा मुलुकका ठूलो राजनीतिक पार्टीका ठूला दुई नेताहरु नेकपा एमालेबाट माननीय विष्णु पौडेल र नेपाली कांग्रेसबाट माननीय गगन थापालाई र प्राइभेट सेक्टरका प्रतिनिधिहरुसँग हामीले छलफल गरायौं । त्यसले एउटा कन्फीडेन्स बनाउनको लागि मद्दत गरेको थियो । गत माघ २९ मा पनि प्रधानमन्त्री सहित उच्च पदस्त सरकारी कर्मचारी बोलाएर अर्थतन्त्रको विषयमा Way forward to Nepali Economy second series आयोजना ग-यौं । त्यस्तै खालको सिरिजमा अहिले हामी चौथो सिरिज गर्दैछौं । अहिलेसम्म अर्थतन्त्रको विषय अर्थविद्हरुको, व्यवसायीहरुको र हामी आर्थिक पत्रकारहरुको मात्रै चासोको विषय हो भन्ने बुझाई लामो समयसम्म रह्यो तर अहिले घर घरमा चुल्हो चुल्होमा अर्थतन्त्रले समस्या पारेको छ । त्यसैले अर्थतन्त्रको विषय जनचासोको विषय हो भन्ने कुरा स्थापित गर्न राजनीतिक पार्टीका नेताहरुलाई संलग्न गराइरहेका छौं । त्यही प्रंसगमा हामीले माननीय गगन थापा र डा. गोविन्द नेपाललाई बोलाएका छौं ।”


सरकारको शुरुको गठनमा अर्थतन्त्रमा केही उत्साह आएको थियो तर अहिले सरकार पुर्नगठन आदि कार्यहरुले गर्दा फेरि प्राथमिकता राजनीतिक भएको हो कि भन्ने लागेको उनले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै अर्थविद् गोविन्द नेपालले भने, “मुलुकको आर्थिक समृद्धि र आर्थिक हितको निम्ति प्रिय, अप्रिय जुन निर्णय लिएर अगाडि बढ्नुपर्ने हो त्यो सबैसँग समन्वय गरेर, जुन सहकार्यमा अगाडि बढ्ने जुन अवसर नयाँ सरकारलाई छ हामी सबैलाई मुलुकको आर्थिक स्थिति संकटतर्फ गैरहेको छ भन्ने कुराको अनुभूति भैरहेको छ । आाम जनजीवन कष्टपूर्ण अवस्थामा छ, आर्थिक रुपान्तरणका आधारहरु क्रमशः खलबलिराखेको अवस्था छ । १५ औं योजनाको शुरुको अवस्थामाा एक किसिमको उत्साहको वातावरण थियो, १५ औं योजनाको अन्त्य सम्म १० प्रतिशतको ग्रोथ हासिल गर्ने परिकल्पना ग¥यौं, तर त्यसपछि कोभिडको कारणले हाम्रा अघि धेरै आर्थिक चुनौतीहरु आए । हाम्रा अथतन्त्रका सबल पक्षहरु दुर्बलतामा परिणत भए । गरीबीको रेखामुनि हामी कहाँ मात्र नभएर विश्वमै धेरै मानिसहरु गए । यसले दिगो विकास लक्ष्य हासिल गर्ने कुरामा धेरै प्रभाव पा-यो ।”


कार्यक्रममा बोल्दै माननीय कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भने, “सरकारको प्राथमिकता के छ भन्नेमा म भन्ने ठाउँमा छैन । सरकारको प्राथमिकतामा के हुनुपर्दछ भन्ने ठाउँमा म छु । अहिले कांग्रेस, माओवादी र समाजवादी साथीहरु खुशी देखिनुहुन्छ । तर हामीले मतदातालाई खुशी बनाउन सकेका छौं भनेर म भन्न सक्दिन । सरकार चुनाव अघि पनि थियो । अहिले गठबन्धनको सरकार छ भने चुनाव अघि पनि गठबन्धनकै थियो । अहिलेको राजनीतिक विकासक्रमले हामीले नागरिकहरुलाई कत्तिको खुशी बनाउन सकेका छौं भन्ने कुरामा हामीले विचार गर्नुपर्दछ ।”

335481735 1673536609729382 4291493041136675864 n

उनले अगाडि भने, “वि.स. २०७४ सालमा जब दुईवटा कम्युनिष्ट पार्टी मिलेर सरकार बन्यो तब नागरिकहरुलाई के कुराले उत्साहित गराएको थियो भने अब सरकारसँग ५ वर्षको लामो अवधि छ भनेर सोंच्छ र त्यसको आधारमा कदमहरु चाल्छ । लय पनि मिल्छ, गति पनि मिल्दछ, मलाई मन नपरे पनि नागरिकहरुको लागि ठीक भएको छ भन्ने लागेको थियो । तर हाम्रो दुर्भाग्य त्यो त्यसरी हिंड्न सकेन । मेरो निर्वाचन अगाडि दलहरु मिल्नु हुँदैन भन्ने मान्यता थियो र अहिले पनि छ । त्यसको पछाडि मेरो आफ्ना तर्कहरु थिए र ती पुष्टि पनि भए । एलाइन्सको लागि हामीसँग राजनीतिक संस्कार छैन । हामीले यो कुरा पुस १० गते प्रमाणित ग¥यौं । मलाई के कुराले खुशी लागेको छ भने निर्वाचन भन्दा जुन गठजोड भयो आज फेरि त्यही गठबन्धन भएर पाँच वर्षसम्म सरकार चलाउने वैधानिकता प्राप्त गरेका छौं ।


अहिलेको गठजोडको सरकारले मुख्यतया तीनवटा कुराहरु हेर्नुपर्दछ एउटा विधिको शासन, एउटा नागरिकहरुलाई संविधानले गरेको वाचा पुरा गर्न निरन्तर गरिरहेको प्रयत्न र अर्को शक्ति सन्तुलनको सिद्धान्तको आधारमा सरकारसँग पनि सीमित शक्ति छ भन्ने तथ्य, केही शक्ति अदालतसँग छ, केही मिडियाहरुसँग छ, केही शक्ति लोकल सरकारसँग, केही शक्ति संसदसँग छ, केही शक्ति संघीय सरकारसँग छ । यो सरकारको अर्को पाटो भनेको इकोनोमिक गभर्नेन्स हो । यसको लागि प्रधानमन्त्री तयार हुनुपर्दछ, मन्त्री र सांसदहरु प्रधानमन्त्रीको सहयोगीहरु हुन् । एउटा अर्थशास्त्रीको विद्यार्थीले अभावबाट चीजहरुलाई हेर्न शुरु गर्दछ । हाम्रो समस्या भनेको प्रधानमन्त्रीको कुर्सीमा बस्ने व्यक्तिले अभावको महशुस गर्दछ कि गर्दैन, त्यो मुख्य कुरा हो । अहिले समयको अभाव छ, स्रोतको अभाव छ र नागरिकहरुमा धैर्यताको ठूलो अभाव छ ।


उनले अगाडि भने, मैले स्वास्थ्य मन्त्री भएर काम गरको अनुभवको आधारमा भन्दैछु हाम्रो बजेट र योजना प्रक्रिया कागजमा एकदमै गजबको छ । अहिले तपाई अर्थमन्त्रालय गएर हेर्नुभयो भने तपाईले पाउनुहुनेछ हामीले यति धेरै कार्यक्रम संशोधन गर्दछौं कि पार्लियामेन्टले प्रश्न सोध्नुपर्ने हो । यो कार्यक्रम संशोधन गर्ने रोग स्थानीय सरकारसम्म गएको छ ।”

प्रतिकृया