• 1:44 am

माओवादी घटकले आइतबार पत्रकार सम्मेलन र मंगलबार संयुक्त अन्तरक्रिया गर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार ११:१०

२६ फागुन २०७९, काठमाडौँ: माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनाको विषयमा संयुक्त अन्तरक्रिया र पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आगामी आईतबार पत्रकार सम्मेलन गर्ने र मंगलबार संयुक्त अन्तरक्रिया गर्ने निर्णय गरेको माओवादीले जनाएको छ । अन्तक्रिया शान्ति प्रक्रियामा योगदान पुर्याएकाहरुसँग गर्ने निर्णय भएको छ ।


द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउनुपर्छ भनेर पत्रकार सम्मेलनमार्फत् जानकारी दिने तयारी गरेको छ ।


अन्तरक्रिया पनि यही विषयमा गर्ने माओवादीले जनाएको छ । अन्तरक्रियामा माओवादी घटकका नेताहरुका साथै नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवाला सहभागी हुनेछन् ।


द्वन्द्वकालीन घटनाको मुद्दामा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि माओवादी घटकका नेताहरुले छलफल र भेटघाटलाई बाक्लो बनाएका छन् ।


यसअघि २३ फागुनमा बालुवाटारमै बसेको यी पार्टीका नेताहरुको बैठकले विस्तृत शान्ति सम्झौता विपरीतका गतिविधिको सामूहिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया