• १३:५९ २०८० फाल्गुन ११ गते
  • 1:59 pm

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालले पिएनजीलाई दियो उच्च लक्ष्य

प्रकाशित मिति

२०७९ फाल्गुन २५ गते, बिहीबार ०१:२३

worldcup e1678347487573

२५ फागुन २०७९, काठमाडौँ:  आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम तथा निर्णायक सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्युगिनी विरुद्ध कीर्तिमानी स्कोर तयार गरेको छ। घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४९.१ ओभरमा अलआउट हुँदै २९७ रन बनायो। यसअघि नेपालले नामिबिया विरुद्ध गत १४ फेब्रुअरीमा लक्ष्य पछ्याउने क्रममा २८७ रन बनाएको थियो। जुन स्कोर नै नेपालको अहिलेसम्मको उच्च स्कोरका रूपमा रहेको थियो।


बिहीबार उच्च लक्ष्य तयार गर्ने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ खेलेका थिए। आसिफले करिअरको पहिलो शतक प्रहार गर्दै उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए।


आसिफ रोहितपछि १ हजार रन पुरा गर्ने दोस्रो खेलाडी समेत बने। आसिफ बाहेक नेपालका लागि ओपनर कुशल भुर्तेलले ४५ रन बनाए।


दुई ओपनरले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए। त्यस्तै, कप्तान रोहित पौडेलले ३० रन बनाउँदा आरिफ शेख १५ रनमा आउट भए। त्यस्तै, ज्ञानेन्द्र मल्लले ११ रन बनाउँदा भीम सार्कीले ४४ रन बनाएका थिए।


पिएनजीका लागि सिमो कमियाले ५ विकेट लिँदा र चार्लेस अमिनीले ३ विकेट लिएका थिए। पिएनजी केही समयपछि २९८ रनको लक्ष्य सहित मैदानमा उत्रिने छ।

प्रतिकृया