इङवा हाइड्रोको आइपीओ बिक्रीमा
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार १०:१२

२१ फागुन २०७९, काठमाडौँ: इङवा हाइड्रोपावरले आइतबारदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले आज फागुन २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो ।
हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १०% अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो। हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।
यसमा आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर निष्कासन गरेको हो । त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १०% अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन्। तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ ।
रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ। स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
प्रतिकृया