सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदै, विश्वासकाे मत पाउनेमा आशंका
प्रकाशित मिति
२०७९ फाल्गुन २१ गते, आईतवार ०८:४५

२१ फागुन, २०७९, धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले आज विश्वासकाे मत लिँदैछन। तर विश्वासकाे मत पाउने कि नपाउने भन्नेमा कुनै यकिन भएकाे छैन । मुख्यमन्त्री कमल शाह केन्द्रकै आशामा विश्वासकाे मत पर्खेर बसेका छन्। प्रदेश स्तरका छलफल र निर्णय हेर्दा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहलाई विश्वासकाे मत पाउन निकै चुनाैती देखिएकाे छ।
शनिबार मात्र माओवादीको प्रदेश संसदीय दलको बैठकले कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई अहिलेकाे अवस्थामा विश्वासको मत दिन नसकिने निर्णय गरेपछि थप समस्या भएकाे हाे।
नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले भने,’यथास्थितीमा विश्वासको मत दिने अवस्थामा हामी छैनौँ, लिखित प्रतिबद्धता नभएसम्म अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसकिने गरी स्पष्ट रुपमा निर्णय भएको हो।’
माओवादी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबी गरेको छ। तर यसका लागि कांग्रेसले संवादको वातावरण नबनाएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो।
शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन समस्या हुनेछ। नागरिक उन्मुक्तिले समेत लिखित प्रतिबद्धता मागेपछि विश्वासको मत पाउन मुख्यमन्त्री शाहलाई झनै सकस पर्ने देखिएको हो। उनलाई नेकपा एमाले या नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएनन् भने पद नै खारेज हुन सक्छ।
यसअघि विश्वासको मत जुटाउन नसक्दा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले महिनादिनमै कुर्सी छाड्नुपरेको थियो। एमाले अहिले प्रतिपक्षी कित्तामा छ। तर यथास्थितीमा माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत दिन नसक्ने बताएपछि अन्याेलता बढेकाे छ।
मुख्यमन्त्री शाहले आज नै बिश्वासकाे मत लिने र पाउनेमा ढुक्क रहेकाे बताए। उनले भने,’केही पद बाँडफाँटमा समस्या देखिएकाे हाे, केन्द्रमा शीर्ष नेताहरूबीच छलफल भइरहेकाे छ, आजै टुङगिन्छ।’
प्रतिकृया