मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुई मृगौला र कलेजोको सफल प्रत्यारोपण
प्रकाशित मिति
२०७९ फाल्गुन १९ गते, शुक्रबार ०२:५२

१९ फागुन २०७९, काठमाडौँ: शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भक्तपुरको एक अस्पतालमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त दुईवटा मृर्गौला र एक कलेजो मिति २०७९ फागुन १६ गते एक साथ तीन जना व्यक्तिमा सफल प्रत्यारोपण भएको छ । उक्त कार्यको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपणविद् डा. पुकार चन्द्र श्रेष्ठले गरेका थिए भने कलेजो प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा ललित कुमार दास र भारतीय प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरुको सहभागीता थियो । मृगौला प्रत्यारोपण कार्यमा प्रा. डा राकेश कुमार बर्मा, प्रा. डा पवन चालिसे, डा. दिपेश श्रेष्ठ, डा. रवि किरण गौतम, डा. हरी वराल, डा. रोजन अधिकारी लगायत सर्जरीमा कार्यरत चिकित्सकको सहभागिता थियो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सभा हलमा आयोजना भएकाे पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिइएको थियो ।
एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा आरती राई, डा. निभा श्रेष्ठ, डा शोभित थापा, डा. रश्मित श्रेष्ठ, लगायतले सहयोग गरेका थिए । नेफ्रोलोजी विभागबाट डा कल्पना कुमारी श्रेष्ठ, डा लुसन सिंह, डा सुमित आचार्य, डा. जुजु राज श्रेष्ठ, डा सुरेश महजन, डा विक्रमविर बज्राचार्य, रेडियोलोजि विभागबाट डा समिर दवाडी, डा गौरव श्रेष्ठ, डा जस्मिन जोशी, डा. विवेक नेपाल, प्याथोलोजिष्ट डा सविना श्रेष्ठ, टान्सपलान्ट कोर्डिनेटर तारा साँध, अर्चना बगाले, सरु कोजु, फिजियोथेरापिष्ट सोनी सिखवल, नि. नर्सिङ्ग निर्देशक पुजा कोइरालाको नेत्रित्वमा नर्सिङ्ग इन्चार्ज अस्मिता कटुवाल, बविता लवजु, अनिता कार्की, मिना खर्वुजा, मन्जु भट्टराईले नर्सिङ्ग व्यवस्थापन तथा विरामीको उपचारको लागि आवश्यक व्यवस्था मिलाएका थिए ।
मिति २०७४ बैशाख २८ गतेवाट पहिलो पटक मस्तिष्क मृत व्यक्ति अङ्गवाट प्रत्यारोपण सुरु भए पश्चात हालसम्म जम्मा पाँच जना व्यक्तिवाट अङ्ग प्राप्त गरी १३ जनामा प्रत्यारोपण भएको छ । नेपाल सरकार, श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पूर्व मन्त्रिज्यूहरु, वर्तमान सचिव द्वय डा रोशन पोखरेल र श्री देव कुमारी गुरागाँई, पूर्व सचिव डा प्रविण मिश्र लगायतको साथ र सहयोगबाट अंगदान र प्रत्यारोपण कार्य यसरी सम्भव हुँदै गएको हो ।
यस पटकको मस्तिष्क मृत्यु भएका व्यक्तीको अङ्ग दानको गर्नको लागि डा. रविन्द्र प्रधानाङ्ग, डा आहना श्रेष्ठ, सुधन के।सि। लगायत समाजसेवी, सामाजिक अभियान्ताको पहल र विरामीका परिवारको पहलले यो कार्य सम्भव भएको हो । मस्तिष्क मृत्यु हुने जिवित व्यक्तिले आँफु जिवितै हुँदा मस्तिष्क मृत्यु पश्चात अङ्ग दान गरेको वा नजिकको नातेदारले मस्तिष्क मृत्यु भए पश्चात निजको शरीरवाट अङ्ग दान गर्न मन्जुरी दिएको अवस्थामा मात्र अङ्ग प्रत्यारोपण गर्ने सकिने व्यवस्था मानव शरीरको अङ्ग प्रत्यारोपणा (नियमित तथा निषेध) ऐन २०५५को पहिलो संशोधन २०७२ तथा नियम २०७३ ले व्यवस्था गरेको छ ।
मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐनको पहिलो संशोधन २०७२ ले अङ्ग दाताको दायरा फराकिलो र दुई वा दुईभन्दा बढी परिवारका कुनै सदस्यलाई अङ्ग प्रत्यारोपण गर्नु पर्ने अवस्थामा त्यस्ता परिवारका आफ्नो नजिकको नातेदारको अङ्ग नमिली प्रत्यारोपण हुन नसकेको अवस्थामा र त्यसरी प्रत्यारोपण गर्न खोजिएको अङ्ग अर्को परिवारको सदस्यको सदस्यसँग मिल्ने भएमा आपसी सहमतिको आधारमा लिखित रुपमा एक अर्काको परिवारको सदस्य विच साटासाट गर्न सकिने व्यवस्थाका साथै मस्तिष्क मृत्यु पश्चात अङ्ग प्रत्यारोपण गर्न सक्ने व्यवस्था गरेको छ ।
नेपाल सरकारले मस्तिष्क मृत्यु पश्चात अङ्ग दान तथा त्यसरी प्राप्त हुने अङ्ग ग्रहण गर्न चाहाने व्यक्तीको प्राथमिकताको सूची बनाउने र प्रथमिकताक्रमको सूची अधावधिक गरी राख्ने र झिकेका अङ्गलाई तोकिए बमोजिमको प्राथमिकताक्रम अनुसार वितरण गर्ने व्यवस्था मिलाउने प्रयोजनका लागि यस केन्द्रलाई समन्वय इकाई तोकेको छ । हाल उक्त इकाईको प्रमुख डा कल्पना कुमारी श्रेष्ठ रहनु भएको छ ।
समन्वय इकाईले मस्तिष्क मृत्यु पश्चात अङ्ग दान दिने व्यक्ती र अङ्ग प्रत्यारोपण गर्न आवश्यक विरामी प्रतिक्षा सूची तयारपारी सूची अधावधिक गर्ने र मस्तिष्क मृत्यु भएका व्यक्तीको अङ्ग दान प्राप्त हुन आएमा प्रतिक्षा सूचीमा रहेका विरामीहरु मध्ये जुन विरामीले मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमीत तथा निषेधित) नियमावली २०७३ दोस्रो संशोधन अनुसार अधिक्तम अंक प्राप्त गर्न सफल हुन्छ । त्यस विरामीले नियमित चेक जाँच गरी रहेको अस्पतालमा अङ्ग प्रत्यारोपण सेवा गर्ने अनुमती भएको रहेछ र विरामीले उक्त अस्पतालमा प्रत्यारोपण गर्न चाहेको साथै त्यस अस्पतालमा कार्यरत प्रत्यारोपण टोली प्रत्यारोपण गर्नको लागि तयारी रहेका अवस्थामा त्यस्तो अस्पतालसम्म अङ्ग पुऱ्याउने व्यस्था समेत मिलाउने जिम्मेवारी हुन्छ ।
समन्वय समितिले मस्तिष्क मृत्यु पश्चात प्राप्त अङ्गहरुको लागि नियमावलीमा तोकिए बमोजिमको प्रथमिकताको आधारमा प्रत्यारोपणाको लागि सिफारिस गरे अनुसार मिति २०७९ फागुन १६ गते दुई वटा मृगौला कमश रुपन्देही मायादेवी गाउँपालिका वडा नं. ४ पविका ४७ बर्षिय पुरुष र सिराहा जिल्ला सिराहा नगरपालिका एकका ३५ बर्षिय पुरुषमा प्रत्यारोपण भएको थियो । कलेजो प्रत्यारोपण ललितपुर जिल्ला ललितपुर महानगरपालिका वाड नं. २५ का ६८ बर्षिय पुरुषलाई प्रयारोपण गरिएको थियो ।
नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु पश्चात प्राप्त अङ्ग प्रत्यारोपण पनि यसै केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा भएको थियो । उनको निरन्तर प्रयास र केन्द्रमा कार्यरत सम्पुर्ण विभागमा कार्यरत चिकित्सक नर्स, प्राविधिक तथा प्रशासन कर्मचरीहरुको अथक प्रयासमा प्रत्यारोपण कार्य सफल हुँदै गएको छ ।
प्रतिकृया