• 8:14 am

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए माओवादीले विचार मिल्नेसँग सहकार्य गर्ने

प्रकाशित मिति

२०७९ माघ २१ गते, शनिबार ०७:४२

maobadik

२१ माघ, २०७९, काठमाडौँ: नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने भएको छ।


शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटी बैठकमा यसबारेमा चर्चा भएको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले राष्ट्रपतिको लागि सकेसम्म सहमतिको प्रयत्न गर्ने र सहमति हुन नसके विचार, दृष्टिकोण, उद्देश्य, लक्ष्य मिल्नेसँग मिलेर अघि बढ्ने बताए।


उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरु खुला रहेको बताए। उनले आजको बैठकमा गृहमन्त्रीको बारेमा भने कुनै छलफल नभएको बताए। उनले सत्ता साझेदार दल नेकपा एमालेलाई चिढ्याउन आफूहरुले नचाहेको भन्दै सबै मिलेर अघि बढ्नका लागि प्रयत्न गरेको बताए।


‘राष्ट्रपति निर्वाचनमा सहमति हुन सकेन भने जोसँग विचार, दृष्टिकोण, उद्देश्य लक्ष्य मिल्छ, उसैसँग मिलेर अघि बढ्छौँ। सबै पक्षसँग हामी खुला छौँ। प्रधानमन्त्रीलाई सबै दलले समर्थन गरेको छ, सबै मिलेर जाऔँ भनेर अघि बढ्ने कुरा राम्रो हो,’ उनले भने, ‘गृहमन्त्रीको बारेमा केही कुरा भएन। नयाँ शिराबाट नयाँ ढंगले अघि बढ्ने छौँ। एमालेलाई बाहिर राखेर जाने भनेको होइन, सबैसँग मिलेर अघि बढौँ भन्ने हो।’


त्यस्तै, पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले आजको बैठकमा आगामी दुई महिना सबै नेताहरु फिल्डमा नै गएर पार्टीको वस्तुस्थितिको बारेमा अध्ययन गर्ने निर्णय भएको बताए। उनले पार्टी संगठन सदृढीकरणका लागि दुई महिने संगठन सुदृढीकरणको अभियान चलाउने बताए। यस अभियानमा चुनावी अन्तर्घातका बारेमा पनि गहन अध्ययन गर्ने निर्णय भएको बताए।

प्रतिकृया