• 5:04 pm

सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेछौँः स्वास्थ्यमन्त्री गिरी

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार ०५:४०

३ माघ २०७९, काठमाडौँ : नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने गरी काम गर्ने बताएका छन्। मंगलबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन्।


उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए। उनले जनताले गुणस्तरीय सेवा लिन सकून् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडि बढाउने बताउ।


उनले भने, ‘सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सीमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडि परेको जनताहरु, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौती हो। त्यो पूरा गर्ने गरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौँ।’


मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने पनि बताए। उनले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताए। स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले मन्त्रालयमा आएपछि स्वास्थ्य सेवाका न्यूनतम मापदण्डसम्बन्धी पहिलो निर्णय गरिएको जानकारी दिइन्।


उनले गुणस्तरीय स्वास्थ्य सेवा सबै नेपालीहरुको पहुँचमा पुर्‍याउनका लागि मापदण्ड बनाएको बताइन्। त्यस्तै, वडास्तरसम्मका स्वास्थ्य केन्द्रहरुमा आँखासम्बन्धी स्वास्थ्य सेवा विस्तारित गर्ने गरी राष्ट्रिय आँखा स्वास्थ्य रणनीति बनाएको पनि उनले बताइन्।

प्रतिकृया