• 1:16 pm

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०३:४८

२ माघ २०७९, काठमाडौँ: उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाइएको छ । राजनीतिक संयन्त्रको बैठक आज अपरान्ह ५ बजे बस्ने गरी बोलाइएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच बालकोटमा भएको लामो छलफलपछि उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको हो । ‘प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजकबीच आज बैठक भयो । आजै अपरान्ह ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ,’ पत्रकारहरूलाई अर्थमन्त्री पौडेलले जानकारी दिए ।


एमाले अध्यक्ष ओली संयोजक रहेको संयन्त्रमा सत्तारुढ दलका अध्यक्षहरु रहेका छन् । संयन्त्रको बैठकले मन्त्रालय भागवण्डा टुंगो लगाउने बताइएको छ । सरकारमा सहभागी हुने दलहरुले पाउने मन्त्रालय संख्या लगभग टुंगिए पनि आधिकारिक निर्णय भने गर्न बाँकी छ । साँझ बस्ने बैठकले मन्त्रालय टुंगो लगाउने स्रोतको दाबी छ ।


यसअघि प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार चाँडै हुने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलहरूसँग भने भोलि छलफल गर्ने छन् ।

प्रतिकृया