द्धारकापुरी दिव्यधाम निर्माण कार्य माघ महिनादेखि प्रारम्भ गरिने
प्रकाशित मिति
२०७९ माघ १ गते, आईतवार ०५:३६

१ माघ, २०७९, : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डूस्थित माता पाथीभरा मन्दिर परिसरमा निर्माण भएको द्धारकापुरी दिव्यधाम निर्माण कार्य माघ महिनादेखि प्रारम्भ गरिने भएको छ । पाथीभरा मन्दिर परिसरमा निर्माण हुन लागेको द्धारकापुरी दिव्यधाम नवधार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।
शनिबार आयोजित श्रीमद्भागवत गौसंरक्षण केन्द्र भक्तपुरको आठौं वार्षिक साधारणामा सभामा प्रस्तुत आगामी कार्यक्रममा केन्द्रले द्धरकाधिश मन्दिर निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता जनाएको छ । मन्दिर परिसमा सबै गोत्रका ऋषिहरुको प्रतिमा स्थापना गर्ने कार्यलाई निरन्तरता दिने, संस्कृत पठनपाठनका लागि संस्कृत पाठशालाको विकास गर्ने, पुष्पकिरणी जलकुण्ड निर्माण गर्ने लक्ष्य लिइएको छ । त्यस्तै श्रीकृष्ण ध्वनियज्ञ निर्माण गर्ने, अध्यक्षकोषलाई निरन्तरता दिने, ज्येष्ठ नागरिक सम्मान तथा असहाय बृद्धबृद्धालाई भोजन गराउने कार्यक्रम गरिने केन्द्रको योजना रहेको छ ।
साधारण सभामा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले द्धारकाधिश मन्दिर निर्माण कार्यका लागि सबैले आआफ्नो स्थानबाट सहयोग गर्न आग्रह गर्दै बिगत पाँच वर्षदेखि सूर्यविनायक नगरपालिकाले मन्दिर परिसरमा संरचना निर्माण गर्न निरन्तर बजेट प्रदान गरेर सहयोग गरेको बताए ।
केन्द्रका संरक्षक तथा १०८ भागवत वाचक अरबिन्द्र शास्त्रीले मन्दिर निर्माणका लागि एक एक वटा इटा सबैले थप्ने हो भने मन्दिर छिट्टै निर्माण हुने बताउनुभयो । उनले मन्दिर निर्माण सम्पन्न भएपछि मन्दिरमा सवा करोड बत्ति बाल्ने योजना रहेको भन्दै मन्दिर निर्माण जस्तो पवित्र कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
सामुदायिक विकास केन्द्र गठ्ठाघरका अध्यक्ष खेमप्रसाद सुवेदीले सकारात्मक आस्था बोकेपछि समाज निर्माण गर्न समय नलाग्ने भन्दै आफूले पनि सधै सकारात्मक आस्था बोकेर समाजमा सहयोग गर्दै आएको बताए ।
कार्यक्रमका सभाध्यक्ष नारायणप्रसाद न्यौपानले मन्दिर निर्माण कार्यमा सबैबाट निरन्तर साथ सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रममा केन्द्रका महासचिव नारायणप्रसाद चौहानले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरे । उक्त प्रतिवेदन सभाबाट सर्वसम्मत पारित समेत गरिएको थियो । सो अवसरमा मन्दिर निर्माणका लागि विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गर्नुभएको थियो भने आर्थिक सहयोग गर्ने व्यक्तिलाई श्रीमद्भागत गौरसंंरक्षण केन्द्रले सम्मान गरेको थियो ।
प्रतिकृया