माघेसंक्रान्तिमा स्वदेशी उत्पादनले नै धान्यो बजार, कुन तरुलको कति मूल्य ?
प्रकाशित मिति
२०७९ पुष ३० गते, शनिबार ०५:४४

३० पुस २०७९, काठमाडौँ : माघेसंक्रान्तिमा स्वदेशी तरुल उत्पादनले नै नेपाली बजार धानेको छ। देशभित्रै पर्याप्त उत्पादन भएसँगै स्वदेशी तरुलले भारतीय तरुलको बजार तरुल विस्थापित गर्यको हो । माघेसंक्रान्ति नजिकिएसँगै बजारमा कन्दमुलहरु उल्लेख्य रुपमा भित्रिएका छन्। तरुलको पर्व माघेसंक्रान्तिमा स्वदेशी तथा विदेशी तरुलको माग उच्च हुन्छ। उपभोक्ताहरुले केही दिन अघिबाटै संक्रान्तिका लागि विभिन्न प्रकारका तरुल, पिँडालु, स्कुसको जरा र सखरखण्ड लगायतका कन्दमुलहरु खरिद गर्ने गरेका छन्।
माघेसंक्रान्तिमा नेपालको १५ देखि २० जिल्लाहरुबाट तरुल बजारमा आउने गरेको छ। जसमा सर्लाही, सुनसरी, धादिङ, मकवानपुर, काभ्रे, झापा, चितवन, नवलपरासी, बनेपा, नुवाकोट लगायतका विभिन्न जिल्लाहरुमा तरुलको खेती हुने गरेको छ। सबैभन्दा धेरै सर्लाही र सुनसरीमा हुन्छ। साथै, कालीमाटी बजारमा माघेसंक्रान्तिका लागि २६२ टन पिँडालु र २१७ टन सखरखण्ड भित्रिएको छ।
कालीमाटी बजारको तथ्यांकमा आजसम्म करिब १२ सय ६० टन तरुल भित्रिएको छ। जसमा भारतबाट २ सय २६ टनमात्र तरुल आयात भएको छ भने बाँकी सबै तरुल देशको विभिन्न जिल्लाहरुबाट आएको श्रेष्ठले जानकारी दिए। हालसम्म आगमन हेर्दा भारतबाट माघेसंक्रान्तिको लागि मागको करिब साढे ८ प्रतिशत मात्रै आयात भएको छ। स्वदेशमा उत्पादित तरुलको हिस्सा ७२.५ प्रतिशत रहेको छ।
माघेसंक्रान्तिका लागि भारतबाट आयात गरिएको तरुल स्वदेशीभन्दा सस्तो हुन्छ। भारतीय भन्दा स्वदेशी तरुल प्रतिकेजी १० रुपैयाँदेखि ५० रुपैयाँ महँगो हुने गरेको छ। अहिले बजारमा आयातित भन्दा स्वदेशी तरुल आउने क्रम बढी छ।
माघेसंक्रान्तिको अघिल्लो दिनसम्म उपत्यका नजिकका जिल्लाहरुबाट तरुल आउने गरेको छ। जसमा सबैभन्दा बढी तरुल सर्लाही र सुनसरीबाट आउने गरेको छ। हाल सर्लाहीबाट मात्र करिब ५ सय ६६ टन तरुल कालीमाटी बजारमा भित्रिएको छ। योसहित अन्य जिल्लाहरुबाट ६० देखि २५० टनसम्म तरुल आउँछ।
कुन तरुलको कति मूल्य ?
बिहीबारसम्म प्रतिकेजी ६० देखि ६५ रुपैयाँमा बिक्री भइरहेको तरुल शुक्रबार प्रतिकेजी ७० देखि ८० रुपैयाँ भएको छ। यतिबेला देशभर यसको माग हुने भएकोले मूल्य पनि केही बढ्ने गरेको छ । हाल बजारमा भित्रिएका तरुलहरुमा सबैभन्दा महँगो वन तरुल रहेको छ। यसको मूल्य प्रतिकेजी १८० रुपैयाँदेखि २०० सय रुपैयाँसम्म छ।
हात्तिपाइले तरुल प्रतिकेजी ७० देखि ८० रुपैयाँ, पहाडी हात्तिपाइले १०० देखि १२०, रातो तरुल ९० देखि १००, सेतो तरुल ६० देखि ७०, पानी तरुल ५० देखि ६० रुपैयाँ, सिमल तरुल भारतीय ६० देखि ७० रुपैयाँ छ।
साथै, माघेसंक्रान्तिमा खाइने अर्को कन्दमुल स्कुसको जरा प्रतिकेजी १५० रुपैयाँदेखि २०० सय रुपैयाँसम्म रहेको छ।
प्रतिकृया