• 8:45 am

२० लाख धरौटी बुझाएर छुटे सन्दीप लामिछाने

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ०२:३४

२९ पुस २०७९, काठमाडौँ: बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने रिहा भएका छन् । उनी पाटन उच्च अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका हुन्। पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न बिहीबार आदेश दिएको थियो ।


सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरु धुव्रराज नन्द र रमेश ढकालको इजलासले सर्तसहित थुनामुक्त गर्न आदेश दिएको हो । अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको छ भने काठमाडौँ उपत्यका बाहिर जाँदा पनि प्रशासनको अनुमति लिनु पर्नेछ। साथै उनलाई मुद्दाको विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अभिव्यक्ति दिन पनि अदालतले रोक लगाएको छ।


बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।


काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए।


बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो। लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन्।

प्रतिकृया