• 5:52 pm

सुदूरपश्चिम प्रदेशसभामा सभामुखका लागि आज पुन:निर्वाचन

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ०९:०९

२९ पुष, २०७९, धनगढी : सुदूरपश्चिम प्रदेशको सभामुखका लागि शुक्रबार पुन:निर्वाचन हुन लागेकाे छ । बिहीबारको निर्वाचनमा कुनैपनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज शुक्रबार फेरि मतदान हुन लागेको हो।


प्रदेश सभामा आज शुक्रबार ११ बजे पुन सभामुख चयनका लागि निर्वाचन हुँदैछ। बिहीबार नेकपा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर भण्डारीले २६ र नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर रावलले २३ मत पाएका थिए। बहुमतका लागि एक मत पुगेकाे थिएन।


बहुमत पुर्याउन २७ सदस्य आवश्यक भएपनि कसैको बहुमत नपुगेपछि सभामुख चयनका लागि आज बिहान ११ बजे पुनः बैठक आह्वान गरिएको हो। सभामुखमा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी(नाउपा) र राप्रपाले गठबन्धन गरेका थिए। सो आधारमा भण्डारीले २९ मत पाएर सभामुख निर्वाचित हुनुपर्ने हो तर भण्डारीलाई मत दिनुपर्ने एक जनाले बदर (अन्यमा चिन्ह लगाएको) गर्दा र दुई जना अनुपस्थित हुँदा उनी सभामुख बन्न पाएनन्।


अनुपस्थित हुनेमा डोटीबाट निर्वाचित एमालेका चक्र मल्ल र कैलालीबाट निर्वाचित नाउपाका लक्ष्मण किशोर चौधरी थिए । सत्तारुढ गठबन्धनलाई बहुमत पुर्‍याउन बिहीबारकाे निर्वाचनमा बदर मत सदर भएमात्रै पुग्छ।


यस्तै, दुई अनुपस्थित सांसदहरु उपस्थित भएर पक्षमा मतदान गरे भण्डारी सभामुख बन्ने निश्चित छ।

प्रतिकृया