सन्दीप लामिछाने आज छुट्दै
प्रकाशित मिति
२०७९ पुष २९ गते, शुक्रबार ०८:५९

२९ पुष, २०७९, काठमाडौँ: बलात्कार अभियोगमा पुर्पक्ष थुनामा रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने शुक्रबार छुट्ने भएका छन् । बिहीबार उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएसँगै उनी आज शुक्रबार छुट्ने भएका हुन्।
हिजाे सरकारी कार्यालयहरू बन्द भइसकेको हुँदा भोलि धरौटी बुझाउने प्रक्रिया पूरा गरेर उनी रिहा हुने अदालत स्रोतले जानकारी दिएकाे छ । सन्दीपको पुनरावेदन निवेदनमा न्यायाधीशहरू धुव्रराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो। काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई पुर्पक्ष थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध उनले उच्च अदालतमा निवेदन दिएका थिए।
काठमाडौँ जिल्ला अदालतले गत १८ असोजमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सन्दीपले उच्च अदालत पाटनमा बेरितको आदेश बदर गरिपाउँ भनेर निवेदन दिएका थिए।
बिहीबार सुनुवाइ भएसँगै अदालतले सन्दीपको पक्षमा आदेश गरेको हो। लामिछानेलाई मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनले अब बाहिरै रहेर मुद्दा लड्न पाउने छन्। तर उनलाई विदेश जान रोक लगाइएको छ।
एक किशोरीले सन्दीपलाई बलात्कार आरोप लगाएसँगै उनलाई प्रहरीले २० असोजमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो।
प्रतिकृया