• 10:50 pm

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार ०५:२२

२१ पुस २०७९, काठमाडौँ : एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो ।


यद्यपी एकीकृत समाजवादीले सरकारमा भने सहभागी नहुने निर्णय गरेको छ । १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यसूची रहेको छ ।


यसका साथै, एकीकृत समाजवादीले वामपन्थी एकताको पहल गर्न कार्यदल पनि बनाएको छ । बिहीबार बसेको सचिवालय बैठकले महासचिव वेदुराम भुसालको नेतृत्वमा उपमहासचिवहरु गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेको समिति बनाएको हो ।


उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कार्यदलले वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने र वाम एकताका लागि व्यक्ति र संस्थालाई जोड्न काम गर्ने बताए । समाजवादीले पछिल्लो समय उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता पहल गरिरहेको छ ।

प्रतिकृया