• 2:20 pm

न्यूनतम साझा कार्यक्रममा नागरिकका विषयलाई पहिलो प्राथमिकताः गृहमन्त्री लामिछाने

प्रकाशित मिति

२०७९ पुष २१ गते, बिहीबार ०४:५६

२१ पुस २०७९, काठमाडौँ: उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग सरकारले ल्याउने साझा कार्यक्रमबारे बोल्दै उनले सरकारका न्यूनतम साझा कार्यक्रम आम नागरिकको विषयलाई पहिलो प्राथमिकतामा राखेर आउने बताएका हुन्।


उनले अहिलेको सरकार जनमतको आधारमा बनेको भन्दै जनमतको चाहना पूरा गर्ने गरी कार्यक्रम आउने बताए। सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउन र युवा स्वरोजगारसहित विभिन्न नीतिगत कार्यक्रम समेटिने उनको भनाइ थियो।


उनले जनतालाई सहज बनाउने तथा भ्रष्टाचार नियन्त्रण गर्ने साझा एजेण्डामा कुनै पनि दलको विमति नभएको पनि बताए। साझा कार्यक्रम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। सरकारमा रहेका पार्टीहरु विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने उनको भनाइ थियो।


उनले भने, ‘जनताले जसरी मत दिनुभएको छ, त्यो मतअनुसार सरकार बनेको हुनाले त्यसको लागि न्यूनतम साझा कार्यक्रम समावेश हुन्छ। ती कार्यक्रमहरुले आम जनतालाई प्रत्यक्ष रुपमा सरोकार राख्छ। राजनीतिक दलहरुको विचारको विभेदलाई पन्छाएर जनमतलाई कदर गरेका छौंँ।’

प्रतिकृया