इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको मूल्य बढायो, तत्काल मूल्य बढ्दैन: निगम
प्रकाशित मिति
२०७९ पुष १८ गते, सोमबार १०:३२
१८ पुस २०७९, काठमाडौँ: इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई मट्टीतेलबाहेकका इन्धनको भाउ बढाएर आइतवार आगामी १५ दिनको मूल्यसूची पठाएको छ ।
उताबाट भाउ बढेर आए पनि निगमले अहिलेलाई उपभोक्ता मूल्य नबढाउने विज्ञप्तिमार्फत स्पष्ट पारेको छ । आईओसीले पठाएको मूल्यसूची अनुसार निगमले हरेक १५ दिनमा इन्धनको मूल्य थपघट गर्ने गर्छ ।
निगमका अनुसार आईओसीले पेट्रोलको प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलको २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनको ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासको प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढाएर मूल्यसूची पठाएको छ । मट्टीतेलको मूल्य केही घटेर आएको बताएको निगमले घटेको अंक भने विज्ञप्तिमा उल्लेख गरेको छैन ।
नयाँ मूल्यसूचीअनुसार निगमलाई एलपी ग्यासमा ३५९ रुपैयाँ ५० पैसा प्रतिसिलिन्डर घाटा हुन्छ । ग्यासमा १५ दिनमा ४६ करोड ४४ लाख घाटा बेहोर्नुपर्ने निगमले जानकारी दिएको छ । पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको नाफा गणना गर्दा समग्रमा आगामी १५ दिनमा निगमलाई अनुमानित ९९ करोड रुपैयाँ नाफा हुने बताइएको छ ।
आईओसीलाई ८ जनवरी २०२३ मा भुक्तानी गर्नुपर्ने रकम, पुरानो बक्यौता एवं सरकारलाई तिर्नुपर्ने ऋण गरी निगमले अझै करीब १८ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
प्रतिकृया