लक्ष्मी बैंकद्वारा महिलाका लागि छात्रवृत्ति कार्यक्रम
प्रकाशित मिति
२०७९ पुष १७ गते, आईतवार ०२:१२
१७ पुष, २०७९, काठमाडौँ : लक्ष्मी बैंक लिमिटेडले आफ्नो २०औं वार्षिकोत्सवकाे अवसरमा महिलाका लागि छात्रवृत्ति कार्यक्रम ल्याएकाे छ । बैंकले काठमाडौं विश्वविद्यालयमा विज्ञान, प्रविधि, इन्जिनियरिङ वा गणित विषयमा स्नातकोत्तर वा विद्यावारिधि अध्ययन गर्न चाहने महिलाहरूलाई छात्रवृत्ति प्रदान गर्नका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झाैता गरेकाे छ ।
साे सम्झाैतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र काठमाडौं विश्वविद्यालय इन्डेमेन्ट ड्राइभ समितिका संयोजक प्रा. डा. विपिन अधिकारीले हस्ताक्षर गरेका छन् । उक्त छात्रवृत्तिमार्फत लक्ष्मी बैंकले आर्थिकरुपमा विपन्न तथा जेहेन्दार महिला विद्यार्थीलाईे उच्च शिक्षा हासिल गर्न सहयोग गर्नेछ। छात्रवृत्ति पाउन योग्य विद्यार्थीको छनोट सम्बन्धी प्रकृया काठमाडौं विश्वविद्यालयकै मातहतमा हुनेछ । बैंकले छात्रवृत्तिका लागि आर्थिक सहयोग प्रदान गर्ने तथा त्यसको प्रवर्द्धन गर्नेछ ।
त्यसैगरी, छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि बैंकले १ करोड रुपैयाँ बराबरको अक्षयकोषको स्थापना गर्नेछ । सो कोषमा प्राप्त हुने ब्याजको ५० प्रतिशत रकम कोषमै थप हुने र बाँकी ५० प्रतिशत रकम विद्यार्थीको अध्ययन सम्बन्धी खर्च व्यहोर्न प्रयोग हुने बैंकले जनाएकाे छ ।
प्रतिकृया