• 12:43 pm

राष्ट्र बैंकले दियाे ४ वटा वाणिज्य बैंकलाई मर्जरमा जान अन्तिम स्विकृती

प्रकाशित मिति

२०७९ पुष १७ गते, आईतवार १२:४८

१७ पुष, २०७९, काठमाडौँ : नेपाल राष्ट्र बैंकबाट ४ वटा वाणिज्य बैंकले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका छन् । बैंक अफ काठमाण्डू लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका हुन् । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक लिमिटेडले जेठ २७ गते मर्जमा जान सम्झाैता गरेका थिए । त्यस्तै बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक लिमिटेडले असार २ गते मर्जमा जाने सम्झाैता गरेका थिए ।


राष्ट्र बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडलाई मर्जरका लागि अन्तिम स्विकृती दिएकाे थियाे । यस्तै, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडलाई राष्ट्र बैंककाे शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले अन्तिम स्विकृती दिएकाे हो ।


राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी बैंकहरूलाई एकिकृत कारोबार सुरू गर्ने बाटो खुल्नेछ ।


ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको मङ्सिर २३ गते सम्पन्न भएकाे साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुवै बैंक १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडको पुस ७ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । यी दुवै बैंक १००ः९० को अनुपातमा मर्ज हुन लागेका हुन् ।

प्रतिकृया