मिडिया र समाज विषयक अन्तरक्रिया
प्रकाशित मिति
२०७९ पुष १७ गते, आईतवार ११:१४
१७ पुस २०७९, काठमाडौँ: पछिल्लो समय समाजमा युट्युबसहितका सोसल मिडियाको प्रभाव बढेको छ । सही र सत्य सूचना अनि ज्ञानबद्र्धक विषय पस्किने सोसल मिडियाका खाता वा च्यानलको प्रभाव समाजमा सकारात्मक नै परेको छ । तर मिथ्या, कपोकल्पित र सनसनीपूर्ण सूचनाले समाजलाई गलत दिशानिर्देश गर्दछ ।
सूचना प्रविधिको विकाससँगै समाजको हकमा देखिएको यही चुनौतीमाथि विमर्श एवं मूलधारका मिडियाबाट समाजलाई सकारात्मक प्रभाव पार्ने खालका विषयवस्तुलाई प्रोत्साहन गर्न आवश्यक ठानेर यस ब्यारेान मिडियाले अन्नपूर्ण टाइम्स र क्रियटिभ जर्नलिस्ट समूहसँग मिलेर यही मिति २०७९ पुस १६ गते काठमाडौंको शंखरापुर नगरपालिका वडा नम्बर ५, कात्तिकेमा ‘मिडिया र समाज’ विषयक अन्तक्र्रिया भव्यरुपमा सम्पन्न ग-यो ।
१ सय ५५ जना पत्रकार सहभागी कार्यक्रममा वरिष्ठ पत्रकार टंक पन्त, वरिष्ठ पत्रकार अरुणदेव जोशी, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीलगायतका वक्ताले मिडिया र समाजबीचको अन्र्तसम्बन्ध एवं यसमा पत्रकारको भूमिकाबारे प्रकाश पारेका थिए । कार्यक्रमका क्रममा विभिन्न मिडियामा आबद्ध २४ भन्दा बढी पत्रकारले आ–आफ्नो अनुभव सुनाएका थिए । अन्तक्र्रियामा सहभागी सञ्चारकर्मीहरु काठमाडौं र उपत्यका बाहिरबाट समेत आएका थिए ।
कार्यक्रम करिब तीन घण्टा भएको थियो । यो कार्यक्रमलाई विभिन्न सञ्चारमाध्यमले प्राथमिकताका साथ आ–आफ्नो ‘आउटलेट’ मा स्थान दिएका छन् । केही मिडियाले कार्यक्रमको प्रत्यक्ष प्रशारण पनि गरेका थिए । कार्यक्रमका कारण शंखरापुर नगरपालिकाको पर्यटन प्रबद्र्धनमा पनि मद्दत मिल्ने विश्वास आयोजकले लिएको छ । कार्यक्रम समापनपछि आयोजकबाट आगामी दिनमा पनि पत्रकारको क्षमता विकास तालिम र विमर्शयोग्य कामहरू गर्दै जाने घोषणा गरियो । कार्यक्रम सफल पार्न आयोजकले नेपाल बैंक र कृषि विकास बैंकबाट पनि सहयोग पाएको छ, जसप्रति आभार प्रकट गरिएको छ ।
यस्तो कार्यक्रम आयोजकले हरेक वर्ष गर्दै आएका छन् । यसअघि धुलिखेल, ककनी, लाकुरीभञ्ज्याङ र चन्द्रागिरीमा पत्रकार अन्तक्र्रिया कार्यक्रम गरिएको थियो । अहिलेसम्म ७ सय बढी पत्रकार कार्यक्रममा सहभागी भइसकेका छन् ।
प्रतिकृया