• 2:52 am

कविलासी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार ०२:४५

१४ पुस २०७९, काठमाडौँ : सर्लाहीको कविलासी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ६ जनाविरूद्ध काठमाडौं स्थित विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।


प्रमुख प्रशासकीय अधिकृत श्याम किशोर राय, इन्जिनियर राम विनय प्रसाद यादव, सब-इन्जिनियर उमेशकुमार दास, अधुरो रामजानकी मन्दिर निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष रामभरोसी मण्डल धानुक, सचिव बालमेश्वर साह कलवार र कोषाध्यक्ष रिना कुमारीविरूद्ध मुद्दा दायर भएको हो। कविलासी नगरपालिका-८ स्थित अधुरो रामजानकी मन्दिर निर्माणमा वास्तविक कामभन्दा बढी काम देखाएर गलत बिल बनाएर हिनामिना गरेको भन्‍ने अख्तियारमा उजुरी परेको थियो।


अनुसन्धान हुँदा फिल्डमा कम काम भएकोमा बढी काम भएको भनेर नापी किताब मूल्यांकन गरी चढाएको पाइयो। ठेक्का बिल र कार्यसम्पन्न प्रतिवेदनमा पनि फिल्डमा वास्तविक रुपमा भएको कार्यभन्दा बढी मूल्यांकन गराई भुक्तानी लिएको खुलेको हो।त्यसरी उनीहरूले ९७ हजार ८४० रुपैयाँ बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको आरोप छ। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अतर्गत बिगो रकम जफत गरी यस बमोजिमको जरिवाना र कैद सजाय माग गरिएको छ।

प्रतिकृया