अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी!
प्रकाशित मिति
२०७९ पुष १३ गते, बुधबार ०१:२२

१३ पुस २०७९, काठमाडौँ: साढे दुई वर्षअघि आफ्नै फ्ल्याटमा मृत भेटिएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतको हत्या भएको दाबी गरिएको छ । प्रहरीले उनको मृत्युलाई आत्महत्या भन्दै केस बन्द गरे पनि अस्पतालका कर्मचारीले हत्या भएको दाबी गरेका छन् । भारतीय सञ्चार माध्यम बलिउड लाइफका अनुसार कूपर अस्पतालको शवगृहका कर्मचारी रूपकुमार शाहले अभिनेता सुशान्तको हत्या भएको दाबी गरेका हुन्। उनी सुशान्तको पोस्टमार्टममा सहभागी थिए ।
‘सुशान्तको शव पोस्टमार्टमका लागि ल्याउँदा उनको शरीरमा चोटपटक लागेको थियो । उनको घाँटीमा पनि दुई/तीन वटा चोट थियो । यस पूरै प्रक्रियालाई रेकर्ड गर्न आवश्यक थियो तर उच्च अधिकारीहरूले शरीरको मात्र तस्बिर लिन आदेश दिएका थिए । मैले उनीहरूले दिएको आदेश पालना गर्नुपर्याे,’ उनले भने ।
उनले पहिलो पटक सुशान्तको शव हेर्ने बित्तिकै आत्महत्या होइन हत्या लागेको बताए । शाहका अनुसार पोस्टमार्टमको भिडिओ रेकर्डिङलाई अनुमति दिइएको थिएन। त्यसैले अन्तिम समयमा सुशान्तको शवको अवस्थाको कुनै प्रमाण छैन ।
पोस्टमार्टम रिपोर्टमा सुशान्तको झुन्डिएका कारण मृत्यु भएको उल्लेख गरिएको थियो । यसै विषयमा सुशान्तका वकिल विकास सिंहको प्रतिक्रिया आएको छ । उनले सुशान्तको केसमा षड्यन्त्र भएको बताउँदै सिबिआई पनि उक्त षड्यन्त्रमा सहभागी भएको आशंका व्यक्ति गरेका छन् ।
१४ जुन सन् २०२० मा अभिनेता सुशान्त बान्द्राको आफ्नै फ्ल्याटमा झुन्डिएको अवस्थामा भेटिएका थिए । सुरुमा घटनालाई आत्महत्या भने पनि मिडिया र सामाजिक सञ्जालको दबाबका बीच घटनाको अनुसन्धानको जिम्मा सिबिआईलाई सुम्पिएको थियो ।
प्रतिकृया