स्पेनी टिमले नेपाली टिमसँग पोखरा र काठमाडौंमा खेल्ने
प्रकाशित मिति
२०७९ पुष ८ गते, शुक्रबार ०४:५१

८ पुस २०७९, काठमाडौँ: स्पेनको दोस्रो डिभिजन क्लब काथेरेन्योले नेपालमा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा काथेरन्योले पोखरा र काठमाडौंमा खेल खेल्नेछ । प्रतिस्पर्धालाई लिएर बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार काथेरन्योले पुस १३ मा कास्की–११ सँग पोखरा रंगशालामा पहिलो खेल खेल्नेछ।
नेपालमा फुटबलको विकास तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले यी खेल हुन लागेका हुन् । कास्की टिम नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरुङको नेतृत्वमा हुनेछ भने प्रशिक्षक राजेन्द्र तामाङ छन् ।
त्यसको अर्को दिन पुस १४ मा दशरथ रंगशालामा काथेरन्योले काठमाडौं–११ को सामना गर्नेछ । काठमाडौं टिमको नेतृत्व भने नेपाली राष्ट्रिय टिमका अर्का पूर्व कप्तान विराज महर्जनले गर्नेछन् । काठमाडौं टिमको प्रशिक्षकमा मेघराज केसी छन् ।काथेरेन्योबाट स्पेनका पुराना चर्चित खेलाडी म्यानुयल सान्चेज डेल्गाडोले पनि खेल्नेछन् । उनी सन् १९९० को विश्वकप खेलेको स्पेनिस टिमका प्रमुख खेलाडी थिए । यस्तै अन्य खेलाडीले रियल म्याड्रिड र बार्सिलोनाबाट खेलिसकेका हुनेछन् ।
पत्रकार सम्मेलनका अवसरमा कास्कीका कप्तान गुरुङले स्पेनी टिमसँग खेल्न पाउनु विशेष उपलब्धि रहने बताए । यस्तै काठमाडौंका कप्तान महर्जनले यस्ता मैत्रीपूर्ण खेलको आयोजना निरन्तर हुनुपर्ने बताए । प्रशिक्षक केसीले भने विश्वकप र युरो खेलिसकेका खेलाडीसँग नेपाली टिमले खेल्नु पाउनु नै उत्साही खबर भएको बताए । फाउन्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले नेपाली राष्ट्रिय टोलीका वर्तमान तथा पूर्वस्टार खेलाडीहरू र स्पेनिस राष्ट्रिय टिमबाट विश्वकपको समेत अनुभव बटुलिसकेका खेलाडीबीचको प्रतिस्पर्धा अत्यन्तै रोमाञ्चक हुने अपेक्षा रहेको बताए ।
फाउन्डेसनले भविष्यमा दुई देशका फुटबल एकेडेमीबीच दीर्घकालीन सहकार्यको वातावरण बनाउने, स्पेनिस प्रशिक्षकहरू नेपाल ल्याएर खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाउने, स्पेनका विशेषज्ञ इन्स्ट्रक्टरहरूबाट नेपाली प्रशिक्षकहरूलाई प्रशिक्षित गराउने, नेपालका प्रतिभावान युवा खेलाडीलाई स्पेनमा विशेष प्रशिक्षणको व्यवस्था मिलाउने लगायतका योजना बनाएको छ । फाउन्डेसनले एन्फा र स्पेनिस फुटबल महासंघसाग सम्झौता गराउन पहल गरिरहेको छ ।
प्रतिकृया