• 1:44 pm

जेलबाट छुटे चार्ल्स शोभराज

प्रकाशित मिति

२०७९ पुष ८ गते, शुक्रबार १२:३५

८ पुस २०७९, काठमाडौँ: सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै आज शुक्रबार ‘सिरियल किलर’ चार्ल्स शोभराज जेलबाट छुटेका छन् । केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक शोभराजलाई छुटाउन भनी जिल्ला अदालत भक्तपुरबाट पत्र आएसँगै उनी केहीबेरअघि मात्र छुटेका हुन् ।


जेलबाट छुटेका उनलाई अब अध्यागमनमा बुझाइँदैछ। अध्यागमन विभागका अधिकारीहरूका अनुसार केन्द्रीय कारागारमा रहेका शोभराजलाई आज अध्यागमनमा बुझाए लगत्तै उनलाई अब कहिल्यै नेपाल फर्किन नपाउने गरी उनकै देश फ्रान्स पठाउने तयारी भइरहेकाे छ ।


दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन् ।


सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो । योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी भएकाे हाे ।


कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ। उनको पासपोर्ट तथा ट्राभल डकुमेन्ट तयार भएपछि अध्यागमन विभागले भिसा नियमित गरी उनलाई अध्यागमन कसुरअनुसार जरिवानासमेत गर्नेछ ।


जरिवाना तिरेपछि गृहसचिवस्तरीय निर्णय गरी निश्चित वर्ष नेपाल आउन नपाउने गरी निष्कासन हुने अध्यागमन नियमावलीको प्रावधान छ ।

प्रतिकृया