शाइन रेसुङ्गाको १४ औं वार्षिक साधारण सभा पुस २५ गते

प्रकाशित मिति

२०७९ पुष ३ गते, आईतवार १०:०४

shine 1

३ पुष, २०७९, काठमाडौँ: शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ती अनुमोदन गर्नेछ ।


बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब ५१ करोड ९ लाख रुपैयाँको १३.३० प्रतिशत अर्थात् ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ बोनस सेयर र ०.७० प्रतिशत अर्थात् २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


बैंकको सभाले बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, वैदेशिक भ्रमण भत्ता तथा सुविधाहरु निर्धारण गरी नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय सम्बन्धी व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा थप गर्नेछ ।


यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति र समाहित गर्न उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्गन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।


साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा पुस ११ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिकृया