आगामी डिसेम्बर १८ गते मनाइने अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको उपलक्ष्यमा श्रममन्त्री शेरबहादुर कुँवरद्वारा शुभकामना व्यक्त
प्रकाशित मिति
२०७९ मंसिर २९ गते, बिहीबार ०४:२१
२९ मंसिर २०७९, काठमाडौँ: विश्वव्यापीकरणले गर्दा आप्रवासन वर्तमान समाजको स्वाभाविक र अभिन्न अंग बन्न पुगेको छ । व्यवस्थित आप्रवासनको माध्यमबाट मुलुकले विकास र सम्वृद्धि हासिल गर्न सक्दछ । अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, २०२२ को अवसरमा सम्बद्ध सबैमा श्रममन्त्री शेर बहादुर कुँवरले शुभकामना व्यक्त गरेका छन् । आफ्नो शुभकामना सन्देशमा उनले भनेका छन्, “वैदेशिक रोजगारीका क्रममा निधन भएका आप्रवासी श्रमिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु र अत्यन्त कठीन परिस्थितिमा पनि आप्रवासनमा रहेर नेपालको आर्थिक र सामाजिक विकासमा पुर्याउनु भएको योगदानको उच्च प्रसंशा गर्दै धन्यवाद दिन चाहन्छु ।”
शुभकामना सन्देशमा भनिएको छ, “रोजगारीको लागि हुने आवागमन र परिश्रम गरेर आत्मसम्मानपूर्वक जीवन बाँच्न पाउनु हरेक श्रमिकको नैसर्गिक अधिकार हो । सूचना र सीपयुक्त जनशक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूती सहित वैदेशिक रोजगारीको अवसर प्रदान गर्न सकियो भने श्रमिकका लागि मात्र नभएर समाज र राष्ट्रका लागि समेत योगदान हुनेछ । आप्रवासी श्रमिकहरुले श्रम गरी कमाएको पैसाले आफ्नो मातृभूमिको आर्थिक विकासमा टेवा पुर्याइरहेका छन् भने रोजगारदाता मुलुकको विकासमा पनि योगदान दिइरहेका छन् । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै वैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई उत्पादनशील परिचालन गर्ने राज्यको नीति रहेको छ । श्रमको सम्मान गर्दै प्रत्येक श्रमिकको हक अधिकारको रक्षाका लागि श्रम ऐन, २०७४ लाई थप श्रमिकमैत्री बनाइनुका साथै योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई समेत प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याएको छ ।”
पछिल्लो समय श्रमिकमैत्री हुने गरी विद्यमान नीति, ऐन तथा कानुनहरुमा समेत परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको छ भने वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुकहरुसँग दुई पक्षीय श्रम सम्झौतामा समेत श्रमिकमैत्री हुने गरी पुनरावलोकन एवं नवीकरण गर्ने कार्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय क्रियाशील छ। यसका साथै बाध्यतावश वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गरी स्वदेशमै पर्याप्त रोजगारीको अवसर सृजना गर्ने उद्देश्यले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । स्वदेशमा कार्यरत श्रमिकका लागि मात्र नभई सरकारले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको सामाजिक सुरक्षाको प्रत्याभूतिका लागि पनि प्रयास गरिरहेको छ। नेपाल सरकारले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको शेयर बजारमा लगानी गर्नका लागि १०% प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) कोटाको व्यवस्था गरेको छ । श्रम आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिवद्धताहरुलाई आन्तरिकीकरण गर्दै लगिने सरकारको नीति छ । यसक्रममा आप्रवासन सम्बन्धी विश्वव्यापी सम्झौता (CGM) को निष्पक्ष र नैतिक भर्ना प्रक्रिया सम्बन्धि उद्देश्यलाई अङ्गीकार गर्दै अगाडी बढेका छौं ।
संयुक्त राष्ट्रसंघले डिसेम्बर १८, १९९० का दिन आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यहरुको अधिकार संरक्षण सम्बन्धी महासन्धी, १९९० पारित गरी सन् २००३ जुलाई १ बाट यसलाई कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसंघको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको रुपमा मनाउने निर्णय गरेपछि नेपालमा पनि सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक नामाज, आप्रवासी श्रमिक तथा उनीहरुका परिवार, संचार जगत लगायत सम्बद्ध निकायको सक्रीय सहभागितामा विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाउँदै आईएको छ । “वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः आन्तरिक रोजगारी र राष्ट्रिय स्वाभिमान” भन्ने मूल राष्ट्रिय नाराका साथ यो वर्ष अन्तर्राष्ट्रिय आप्रवासी नमिक दिवस विविध कार्यक्रमका साथ मनाइदै छ । यस अवसरमा विभिन्न सरकारी निकाय, वैदेशिक रोजगारको नेत्रमा कार्यरत आप्रवासी श्रमिक, संघ संस्था, राजनीतिक दल, नागरिक समाज, ट्रेड युनियनहरु र सञ्चारमाध्यम समेतको सक्रीय सहभागितामा विविध सचेतनामूलक कार्यक्रमको आयोजना गरी उत्साहपूर्वक यो दिवस मनाउन अनुरोध गरेका छन् । साथै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पुनः सम्पूर्ण आप्रवासी दाजुभाइ तथा दिदीवहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
प्रतिकृया