नीति निर्माणमा दलहरु विभाजित बन्नु हुँदैनः महामन्त्री थापा

प्रकाशित मिति

२०७९ मंसिर २७ गते, मंगलवार ०३:५०

gagan thapa e1613390823775

२७ मंसिर २०७९, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ऐन, नियम बनाउने क्रममा दलहरु विभाजित बन्नु नहुने बताएका छन्। मंगलबार प्रेस लैङ्गिक नीतिसम्बन्धी एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा रहेका दलहरु नीति, नियम निर्माणका बेलामा एक ठाउँमा उभिनुपर्ने बताएका हुन्।


उनले आम नागरिकका समस्या समाधानका लागि नीति निर्माणको आवश्यकता रहेको भन्दै नीति, नियम बनाउने कुरामा सबै राजनीतिक दलहरुले समस्या समाधानका लागि गहन अध्ययन र अनुसन्धान गरी एकत्रित हुनुपर्नेमा जोड दिए। उनले सुरुवातबाट नै नीति निर्माणका लागि सम्बन्धित निकायहरुले राजनीतिक दल र सरकारलाई आवश्यक सुझाव र परामर्श दिन आवश्यक रहेको पनि बताए।


उनले नेपालमा सुरुवाती चरणमा कुनै कुरा नराख्ने तर नीति, निर्माणको अन्तिम बेलामा आएर विभिन्न तर्कहरु अघि सार्ने प्रवृत्तिका कारण कतिपय ऐन, कानुनको संशोधन र निर्माण हुन नसकेको बताए। महामन्त्री थापाले सरकारी पक्षलाई सबै क्षेत्रले आफ्ना क्षेत्रका समस्या समाधानका लागि हुनसक्ने सम्भावित कुराको जानकारी समयसमयमा गराइरहने हो भने नीति निर्माणकर्ताले पनि सोहीअनुसार आफ्ना धारणाहरु थप सशक्त र गम्भीरताका साथ उठान गर्नसक्ने बताए।


उनले भने, ‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ, तर ऐन, नियम बनाउने क्रममा विभाजित हुँदैनौँ। संसदमा विधेयक आइसकेपछि बल्ल क्रस पार्टी काम गर्दा हामी जहिले पनि के गरेका हुन्छौँ भने सरकारले ल्याएको विधेयकमा, प्रेस काउन्सिलले त्यसपछि बल्ल सांसद खोज्न थाल्छ। यो ४ वटा बुँदाहरु हटाइदिनुपर्छ, संशोधन हाल्नुपर्छ भनेर तयार नै गरेर ल्याएको हुन्छ, फरक–फरक पार्टीको मान्छेले दर्ता गर्दैगर्दा कस्तो हो भन्ने कुरा थाहा भइ नै हाल्छ, कसलाई भेटेछ भन्नेकुरा थाहा भइहाल्छ।


किनभने त्यो कपिपेस्ट गरेर ल्याएको हुन्छ। आउने सरकारको मान्छेले थाहा पाउँछ। उसले त्यसलाई गम्भीरतापूर्वक लिँदैन। त्यसैले सुरुदेखि नै हामीले इंगेज गर्दै गयौँ भने के गर्न खोजेको हो भन्नेकुरा जानकारी गराउँदै गयौँ भने खोजेको कुरा पाउनसक्छौँ।’

प्रतिकृया