माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो, क–कसले दिन पाउँछन् आवेदन?

प्रकाशित मिति

२०७९ मंसिर २३ गते, शुक्रबार ११:१७

ipo4

२३ मंसिर २०७९, काठमाडौँ: माया खोला हाइड्रोपावरले आज (शुक्रबार) देखि आइपिओ निष्कासन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख रुपैयाँ बराबरबो १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि जारी गर्न गरेको हो ।


जसमध्ये आयोजना अति प्रभावित क्षेत्र चैनपुर नगरपालिका वडा नम्बर ८ र ९ का स्थानीय, धर्मदेवी नगरपालिकाका वडा नम्बर ३,४,५ का स्थानीय र मादी नगरपालिकाका वडा नम्बर ४ र ६ का स्थानीयलाई ६ लाख कित्ता सेयर निष्कासन गरेको छ ।


त्यस्तै प्रभावित क्षेत्रको रूपमा रहेका चैनपुर, धर्मदेवी र मादी नगरपालिकाका माथि उल्लेखित वडा बाहेक अन्य वडाका स्थानीयलाई ४ लाख कित्ता सेयर निष्कासन गरेको छ । त्यस्तै, सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता सेयर भने श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकमा बिक्री गरिने जानकारी कम्पनीले दिएको छ ।


दुबै समूहका लगानीकर्ताले पुस ८ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा स्थानीयले भने पुस २४ आवेदन दिन सक्ने व्यवस्था छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा गएका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।


उक्त सेयरको बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय तथा प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


वैदेशिक रोजगारमा गएका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था छ ।


कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको जनाउँछ ।

प्रतिकृया