• 5:59 pm

विराटनगरमा भेटिएकाे शंकास्पद वस्तु नेपाली सेनाद्वारा निष्क्रिय

प्रकाशित मिति

२०७९ मंसिर ३ गते, शनिबार १०:२५

३ मंसिर, २०७९, माेरङ : विराटनगर महानगरमा भेटिएको शंकास्पद वस्तु बम तथा विष्फोटक पदार्थ नरहेको पुष्टि भएको छ। महानगर- ३ पुष्प मार्गमा बिहान करिब सवा ६ बजे फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ।


फेला परेको वस्तु मोबिलको बट्टामा तार बेरेर राखेर पाइएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सर्वसाधारण र मतदातामा त्रसित बनाउन हिसाबले ‘नक्कली बम’ राखिएको हो ।


शंकास्पद बस्तु सेनाको बम निष्क्रिय टोलीले बिहान करिब ९ बजे तिर डिस्पोज गरेको छ। सो क्रममा सेनाको टोलीले निष्क्रिय गर्दा भेटिएको वस्तु बम नरहेको पुष्टि भएको हो ।


प्रहरीका अनुसार सडक किनारमा रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेरेर बट्टाबाट बिद्दुतिय तार बाहिर निकालेर शंकास्पद रूपमा छाडिएको थियो ।


शंकास्पद वस्तु देखिएपछि स्थानीयले बिहान प्रहरीलाई खबर गरेका थिए। हाल प्रहरीले सो वस्तु राख्नेको यकिन र खोजी भइरहेको जनाएको छ।

प्रतिकृया