निर्वाचनका लागि सुरक्षा व्यवस्था पूरा, ३ लाख बढी सुरक्षाकर्मी परिचालन
प्रकाशित मिति
२०७९ मंसिर २ गते, शुक्रबार ०५:०५

निर्वाचन बिथोल्न खोज्नेहरू सूक्ष्म निगरानीमा
२ मंसिर २०७९, काठमाडौँ: सरकारले मंसिर ४ गते हुने निर्वाचनलाई निष्पक्ष, सुरक्षित र भयरहित बनाउनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गृह मन्त्रालयले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चातको सुरक्षाका लागि सुरक्षा अंगहरुलाई परिचालन गरिएको जनाएको हो । पत्रकार सम्मेलनमा गृहसचिव विनोद प्रकाश सिंहले निर्वाचनका लागि ७५ हजार नेपाली सेना, नेपाल प्रहरी ७१ हजार भन्दा बढि, सशस्त्र प्रहरी ३५ हजार, अनुसन्धान बिभागका दुई हजार र म्यादी प्रहरी १ लाख १५ हजार गरि करिव ३ लाखको जनशक्ति निर्वाचनको सुरक्षामा खटाइएको जानकारी दिए ।
उनले निर्वाचनलाई सफल बनाउनका लागि निर्वाचन विरोधी गतिविधिमा आफूहरूले शून्य सहनशीलताको नीति लिएको बताए । निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन त्यस्ता व्यक्ति र समूहमाथि निगरानी बढाएको उनले बताए ।
उनले निर्वाचनको समयमा साना हातहतियार प्रयोग गरि सुरक्षामा चूनौति हुने देखिएकाले प्रशासन कार्यालयमार्फत बैद्य हतियार १८ सय ५४ थान र अवैध हतियार १ सय ७१ थान संकलन गरिएको बताए ।
त्यस्तै प्रत्येक निर्वाचन क्षेत्रमा सुरक्षा अनुगमन घुम्ती टोली खटाइएको र आचारसंहिताको अनुगमन गर्ने प्रवक्ता सिंहले बताए । त्यस्तै मौन अवधि देखि मतगणना सुरु नभएसम्मका लागि देशैभर मादकपदार्थ बेचबिखनमा प्रतिवन्ध लगाइएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिकृया