• 4:33 pm

एक वर्षको अवधिमा ९ लाख ३३ हजार भन्दा बढीले लिए ई-पासपोर्ट

प्रकाशित मिति

२०७९ मंसिर २ गते, शुक्रबार ०४:५८

२ मंसिर २०७९, काठमाडौँ: लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागु गरेको राहदानी विभागले त्यसको झन्डै ११ वर्ष पछि ई-पासपोर्ट प्रयोगमा ल्याएको हो । राहदानी विभागले एक वर्षमै ९ लाख ३३ हजार २९३ सेवाग्राहीलाई विद्युतीय पासपोर्ट (ई-पासपोर्ट राहदानी) जारी गरेको छ । २०७८ मंसिर १ गतेदेखि पहिलोपटक विद्युतीय राहदानी वितरण गरिएको थियो । विभागका अनुसार २०७९ मंसिर १ गतेसम्ममा ९ लाख ३३ हजार २९३ राहदानी जारी गरेको हो ।


राहदानी विभागबाट ३ लाख ३४ हजार ५८३, जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट ५ लाख १६ हजार ८०५ र विदेशस्थित नियोगहरूबाट ८१ हजार ९०५ राहदानी जारी गरिएको विभागले जनाएको छ ।


७७ जिल्ला, १७ इलाका प्रशासन कार्यालय र विदेशस्थित ३८ वटा कूटनीतिक नियोगबाट जारी भइरहेको विभागले प्रस्ट पारेको छ । विभागका अनुसार राहदानीको राजश्व विद्युतीय माध्यमबाट तिर्न सकिन्छ । सेवा प्रवाहमा सहजता ल्याउन ‘नेपाल इ-पासपोर्ट’ मोबाइल एपको निर्माण भएको छ । अनलाइन प्रणालीलाई सेवाग्राहीमैत्री बनाउने काम जारी भइरहेको छ ।


राहदानी छिटो बनाइदिने, अपोइन्टमेन्ट मिति अगाडि सारिदिने जस्ता विभिन्न बहानामा सेवाग्राहीलाई ठग्ने बिचौलीयालाई विभाग, सेवाग्राही र नेपाल प्रहरीको सहयोगमा अनुसन्धान तथा कारबाहीका लागि पठाउने गरिएको विभागले बताएको छ ।


‘सामाजिक सञ्जालको भ्रामक सूचना सम्प्रेषित गर्ने व्यक्ति तथा साइबरहरूलाई समेत अनुसन्धान तथा कारबाही गरिदिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोलाई अनुरोध गरिएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिकृया