मतदानको तीन दिन अघिदेखि मदिरामा रोक लगाउने तयारी
प्रकाशित मिति
२०७९ कार्तिक २३ गते, बुधबार ०७:०५

२३ कात्तिक २०७९, काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगले काम गरिरहेको बताएका छन्। बुधवार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताएका हुन्। आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रह गरे।
प्रमुख आयुक्त थपलियाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिए। उनले निर्वाचनको महाअभियानमा अब सबै सरिक भइ महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको बताए।
निर्वाचनको बिरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरुप्रति लक्षित गर्दै खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भए पनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने उल्लेख गरे। प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भने पनि आयोगले भने तीन दिन अघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको जानकारी दिए। उनले यसमा युवाहरुले आयोगको आग्रहलाई आम नागरिक समक्ष सचेत गराउनुपर्ने सुझाव दिए।
उनले भने, ‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ । तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ । यो जायज कुरा हो । यसमा खबरदारी गर्नुहोला । सूचना भेटेमा आयोगलाई दिनुहोला ।’
प्रतिकृया