गठबन्धनले साझा उद्देश्य लिएर चुनावी मोर्चामा होमिइसकेपछि एक आपसमा विश्वासको वातावरण बनाउनुपर्दछः शेर बहादुर कुँवर

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ०३:०५

sher1

अहिले भीम रावलमाथि जुन अपमान भैरहेको छ, त्यो एउटा राष्ट्रभक्त, देशभक्त र सक्षम नागरिकमाथिको अपमान भैरहेको अनुभूति भैरहेको छ ।

२२ कार्तिक २०७९, काठमाडौँ : कुनै बेला नेकपा (एमाले), अछामका नेता रहेका शेरबहादुर कुँवर अहिले पार्टी विभाजनका कारण चुनावी सहजतामा छन् । पार्टी फुटेपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा लागेका उनी यो पटक अछाम–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । मातृभूमिन्यूजका प्रधान सम्पादक सुवास कुँवरसँगको कुराकानीमा श्रम तथा रोजगार मन्त्री शेर बहादुर कुँवर अछाम जिल्लाको क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको रुपमा उम्मेदवारी छन् । सुभाष कुँवरसँगको कुराकानीमा उनले राजनीति पार्टीबीचको सहकार्य, चुनाव जितिसकेपछिका योजना तथा अहिलेको गठबन्धनको बारेमा बताएका थिए । हाल निर्वाचनको सरगर्मी पनि बढेको छ । अहिले प्रायजसो राजनीतिक पार्टी, स्वतन्त्र उम्मेवारहरु जनताको माझमा गएर आफ्नो एजेण्डहरु प्रस्तुत गरि जनतालाई आफूतर्फ आकर्षित गर्ने काममा व्यस्त छन् । उनले आफ्नो उम्मेदवारी जनताको नजरमा सकारात्मक भएको बताए ।


उनी अगाडि भन्दछन्, “शेर बहादुर कुँवर जनताको बीचमा अपरिचित नाम होइन । समग्र अछाम जिल्लामा चाहे प्राज्ञिक क्षेत्रमा होस्, चाहे सामान्य जनताको बीचमा, हलो कुटो चलाउने मेरो आमाबुबा र दाजुभाई किन नहुन्, मेरै सहकर्मी किन नहुनु, उहाँहरुको बीचमा म चिरपरिचित नाम हो । मैले ३३ वर्षको महत्वपूर्ण जिन्दगी मेरो किशोर अवस्था, युवा अवस्था र मेरो बाल्य अवस्था तिनै जनतासँग सहकार्य गर्नमा बितेको छ ।” उनी अगाडि भन्दछन्, “राज्य सत्तामा पुगेपछि मलाई जनताले २०६४ को अत्यन्त महत्वपूर्ण समयमा, अत्यन्त अप्ठ्यारो बेला, अछामी जनताले अछामको शेर बहादुर कुँवरले प्रतिनिधित्व गर्न सक्दछ, हाम्रो भावना बुझेर शेर बहादुर कुँवर संविधान सभामा जान सक्दछ, हाम्रो भावनाहरु प्रतिबिम्बित गरेर सदनमा उसले आफ्नो भावनाहरु बुलन्द गर्न सक्दछ भनेर मलाई असाध्यै मायाँ गरेर, आफ्नो छोरो जनजनबाट सच्चा छोरोको रुपमा मायाँ गर्नुभयो र ०६४ मा मैले निर्वाचन पनि जितें ।”


आफूले विगतमा गरेका कामहरुको स्मरण गर्दै उनी भन्दछन्, “तत्पश्चात ४ वर्षसम्म कुनै पनि जिम्मेवारीमा थिइन । एउटा राजनैतिक दलको पार्टी प्रमुखको हिसाबले जिल्लामा बसेको थिएँ । मानिसहरु संसद भैसकेपछि जिल्लाबाट हराउने, जिल्लाबाट टाढा हुने प्रवृत्ति यो भन्दा अगाडि देखिएकोमा मैल आफ्नो संसदबाट अवकाश भैसकेपछि पनि बाँकी जिन्दगी तिनै जनताको बीचमा, तिनै दाजुभाइ दिदीबहिनीको दुःख, सुखमा मैले बिताएको छु । पुनः २०७४ सालमा राष्ट्रिय सभामा पुनः निर्विरोध निर्वाचित भएँ । तत्पश्चात पनि मैले जनताको तर्फबाट उठाउनुपर्ने आवाजहरु र जनताका समस्यासँग एकाकार भएर राष्ट्रिय सभालाई पनि अछामी जनताको नजिक बनाउने प्रयास गरें ।”


उनका अनुसार इतिहास निर्मोही हुन्छ, राजनीति सोझो बाटोमा हिंड्दैन । राजनीतिमा अनेक किसिमका घटनाहरु आउँछन्, जान्छन् । तर इतिहासमा भोगेका गरेका कुराहरु मेटिंदैन । त्यो इतिहासको पानामा जहिले पनि रहिरहन्छ । भीम रावल र उनको सम्बन्ध भनेको अत्यन्त निकटताको सम्बन्ध हो । रावलसँग उनले ४० वर्षसम्म सहकार्य गरे र उनी उनका आदरणिय नेता हुन् । उनी अगाडि भन्दछन्, “उहाँ राष्ट्रिय चर्चित व्यक्तित्व पनि हो । उहाँ राष्ट्रवादको वकालत गर्ने व्यक्तित्व हो । हामी जो जहाँ भए पनि यो १ वर्षको टाढा नजिकको विषय प्रमुख होइन । विगतमा हामीले गरेको सहकार्य इतिहासको सबैभन्दा महत्वपूर्ण पाटो हो । अहिले उहाँमाथि जुन ढंगले प्रहार भैरहेको छ, अन्तिम घडीमा आएर उहाँलाई जुन अपमान गरिएको छ, त्यही अपमान हुन्छ भनेर म त्यो पंक्तिमा बस्न नसकेको हो । मलाई थाहा थियो र यो विषयमा मैले उहाँलाई पनि सचेत गराएको थिएँ । मैले भनेको थिएँ कि तपाईमाथि निर्ममता अपनाइँदैछ । एउटा राष्ट्रिय व्यक्तित्वलाई नोक्सानीमा पारेको अनुभूति गरिदैछ । त्यसैले जहाँ मानिसको सम्मान हुँदैन, त्यो ठाउँमा बसेर बालुवामा पानी हालेर कुनै विरुवा उम्रला भनेर कल्पना गर्न सकिंदैन ।


राजनीतिक पार्टीबीचको सहकार्यको बारेमा प्रश्न गर्दा उनी भन्छन्, “सहकार्य राजनीतिमा असम्भव भन्ने हुँदैन । अहिले देशका प्रधानमन्त्री शेर बहादुर देउवाको विगतको कार्यकालमा अहिलेका माओवादीका आदरणिय नेता पुष्पकमल दाहालको टाउकाको मूल्य तोकेको हैन र ? प्रधानमन्त्री माथि अनेक ठाउँमा बम वर्षाएको होइन र ? एकअर्कोको टाउकोको मूल्य तोक्ने र गोली वर्षाउने भन्दा हामी बीच भएको तिक्तता बढी होला र ? तर आज शेर बहादुर देउवा र पुष्पकमल दाहाल सँगै हुनुहुन्छ । नङ, मासुको सम्बन्ध छ उहाँहरुको । त्यही भएर मैले अघि नै भने कि राजनीति भनेको सोझो बाटो मात्र हिंडिदैन, अनेकौं बाटोहरुमा रुमल्लिने गर्दछ । भोलिका सम्भाव्य कुराहरु सकारात्मक हुन सक्दछन् । अहिले रावलमाथि जुन अपमान भैरहेको छ त्यो एउटा राष्ट्रभक्त, देशभक्त र सक्षम नागरिकमाथिको अपमान भैरहेको अनुभूति भैरहेको छ । हामी छुट्टै खेमामा भए पनि उहाँमाथिको अपमान मलाई पनि कस्तो कस्तो अनुभव भैरहेको छ ।


अछामको लागि के गर्नुभयो भन्ने प्रश्नमा उनले भने, “म २०६४ मा संविधान सभाको सदस्यको रुपमा अछामी जनताको तर्फबाट निर्वाचित भैसकेपछि संविधान सदस्यको रुपमा एउटा राजनीतिककर्मीको उच्चतम प्राप्त गर्ने पद विधायिकी जिम्मेवार मैले लिइसकेपछि मैले केही न केही गर्नुपर्दछ भन्ने मान्यताको विकास गरेको थिएँ । मेरो दिमागमा नकारात्मक कुरा कम हुन्छ र सकारात्मक कुरा बढी हुन्छ । अर्थ मन्त्रालयको वैदेशिक अनुदान महाशाखा हुन्छ त्यहाँ गएर हेरि मैले अछामी जनताको लागि केही गर्न सकिन्छ कि भनेर सोंच बनाएको थिएँ । सन् १९९० ताका अर्थात २०४७/४८ ताका अछाम जिल्लामा बुढीगंगा हाइड्रोपावरको खोजी गरिएकाे थियो, म पनि त्यसको खोजीमा लागें । चिनीयाँ सरकारले उपहारको रुपमा बनाइदिने प्रतिबद्धता पनि गरेको थियो । बीचमा उनीहरु त्यो प्रतिबद्धताबाट पछि हटे । त्यसपछि म नयाँ सहयोगी दाताको खोजीमा लागें । कुवेत फण्ड पत्ता लाग्यो, कुवेत फण्ड, अरब फण्ड र नेपाल सरकारको त्रिदेशीय सहयोगबाट बुढी गंगा हाइड्रोपावरको शुरुआत गर्ने मैले धेरै प्रयास गरें । त्यो भयो र त्यसमा मैले महत्वपूर्ण योगदान गरेको छु । यो अहिले करिब करिब टेण्डरको प्रक्रियामा छ, टेण्डर पनि सिद्धीन थाल्यो होला । केही समयपछि त्यसको शुरुआत पनि हुनेछ । दोश्रो कुरा अछाम र कैलालीलाई जोड्नको लागि सबैभन्दा छोटो बाटो सेती लोकमार्ग, हामी अछाम जिल्लामा पुग्दा १३९ किमीको दूरीमा पार गर्दछौं । त्यही कैलालीको बहुनियामा पुग्नको लागि हामीले झण्डै ४०० किमी पार गर्नुपर्ने हुन्छ । ४०० किमी पार गर्ने बाटो हामी १५० किमी भन्दा पनि कम दुरीमा पार गर्ने गरी हामीले २०६६/६७ को बजेटमा सेती लोकमार्गको लागि सम्बन्धन गर्न सफल भयौं । त्यो पनि मेरो कार्यकालको महत्वपूर्ण उपलब्धि हो । त्यस संगसंगै पर्यटकीय क्षेत्रमा देशभरिका ११ वटा पर्यटकीय सडक त्यतिबेला सरकारले घोषणा गरेको थियो, ११ वटा सडकमध्ये २ वटा सडक मैले अछामको लागि ल्याउन सफल भएको थिएँ । एउटा साँफेबगरको खप्तड सडक र अर्को विनायक कालापानी हुँदै गएको सडक । दुईवटा सडकको शुरुआत म मेरो कार्यकालमा गर्न सफल भएको थिएँ । खानेपानीको सन्दर्भमा पनि केही काम गरेका छौं । चौपाटीमा २१ करोड ८९ लाखको हामीले खानेपानी प्रोजेक्ट बादल र दुनीको बीचमा रहेको मुंग्रा मूलबाट खानेपानीको शुरुआत गरेका छौं । सो खानेपानीबाट चौपाटीवासीहरु एक घर एक धारा जुन अवधारणा विकसित भएको छ, त्यसलाई हामीले कार्यान्वयन पनि गरेका छौं । त्यसैगरी छाउपडी गोठमुक्त अभियान पनि चलाएको उनले बताएका छन् ।


चुनाव जितिसकेपछि अछामको विकास र समृद्धिका लागि उनका के के योजना छन् भन्ने प्रश्नको उत्तरमा यदि अछामी जनताले निर्वाचित गरेको खण्डमा अधुरो रहेको सेती लोकमार्गलाई आवातजावत गर्न मिल्ने गरी बाटोको विकास गर्ने प्रक्रियामा अगाडि बढ्ने बताए । त्यसैगरी बुढी गंगा हाइड्रोपावरलाई अगाडि बढाएता पनि तर अहिलेसम्म निर्माण कार्य सम्पन्न नभएकोले उनको यही कार्यकालमा बुढी गंगाबाट बिजुली उत्पादन गरी वितरण गर्ने कार्य आफ्नो प्राथमिकता भएको बताए । उनी अगाडि भन्दछन्, “हामी प्राकृतिक श्रोतको हिसाबले निकै धनी छौं चाहे त्यो खप्तडको विकास होस्, चाहे रामारोशनको विकास होस्, चाहे वैद्यनाथ धामको हिसाब होस्, चाहे अरु ठाउँहरु किन नहुन्, ती ठाउँहरुलाई हामी एकीकृत र व्यवस्थित गर्न सक्यौं भने आन्तरिक पर्यटकलाई त हामी भित्र्याउन सक्दछौं, साथसाथै बाह्य पर्यटकलाई पनि भित्र्याउन सक्छौं, तिनका केही आधारहरु छन् ।”

“एक खप्तड जस्तो अत्यन्तै पाटो नै पाटो भएको ठाउँलाई विश्व सम्पदामा हामीले चिनाउन सक्यौं, त्यसको व्यापक रुपमा प्रचार गर्न सक्यौं र विदेशी पर्यटकहरुलाई भित्र्याउन सक्यौं भने हामीसँग रहेको अहिलेको सीमित साधन र श्रोतलाई हामीले व्यापक बनाउन सक्छौं । अर्को कुरा वैद्यनाथ धामकाे बारेमा पौराणिक स्कन्द पुराणमा पनि उल्लेख भएको छ । कुनै बेला १० वटा शिर भएको रावणले महादेवको खोजी गर्दा गर्दै उनको दर्शन गर्ने क्रममा वैद्यनाथ धाम पुग्दछन् । कहिं पनि भेटाउँदैनन्, अन्ततोगत्वा उनले त्याग गर्दछन्, होम गर्दछन्, तपस्या गर्दछन् र आफ्नो १० वटा शिर मध्ये ९ वटा शिर छेदन गर्दछन्, र दशौं शिर छेदन गर्दा महादेव प्रकट भएर उहाँलाई वरदान दिन्छन् । उनले शिव लिंगलाई लंका लैजान पाउँ भनेर वरदान माग्दछन् । महादेवले रावणको माग पुरा गर्दछन्, र त्यो शिव लिंगलाई लैजाने क्रममा भारतको झारखण्ड रहेको ठाउँमा रावणलाई पिशाब लाग्दछ र त्यो कुनै ग्वालाको हातमा दिन्छन् । ग्वाला एकदम थाकेर त्यो शिवलिंग त्यहीं राख्छन् । अन्तमा शिव लिंग त्यही स्थापित हुन्छ । त्यो शिव लिंग लंकामा जान पाउँदैन । त्यो वैद्यनाथ धाम भनेको वास्तविक र ओरिजनल अछाममै छ । यसको बारेमा व्यापक प्रचार प्रसार ग-यौं भने ठूलो जनसंख्या भएको भारत सबा अरब भन्दा बढी जनसंख्या भएको भारतको १ प्रतिशत जनताको भावनालाई पनि हामीले आकर्षित हुने गरी वैद्यनाथ धामको प्रचार प्रसार गर्न सक्यौं भने अवश्य पनि धार्मिक पर्यटनलाई हामीले प्रवद्र्धन गर्न सक्दछौं । सँगै रहेको चीनमा पनि झण्डै डेढ अरब जनसंख्या छ, त्यसको सानो भागलाई पनि धार्मिक पर्यटनमा जोडेर आकर्षित गर्न सक्यौं भने हामी अछामी जनताहरु धनी हुन सक्दछौं ।” आफ्नो कुरालाई अगाडि बढाउँदै उनी भन्दछन्, “हामीसँग नदीनाला हरु छन्, जडिबुटीहरु छन्, त्यसको प्रवद्र्धन गर्न सक्यौं भने हामीले धेरै फाइदा उठाउन सक्दछौं । यसको जगेर्ना र संरक्षण गर्न सक्यौं भने हाम्रो जीवनस्तरमा वृद्धि हुन्छ ।”


अबको निर्वाचनमा गठबन्धनका नेताहरु इमान्दार हुनेमा कत्तिको विश्वास गर्नुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनले भने, “राजनीति भनेको विश्वासको कुरा हो । राजनीतिमा विश्वास हुनुपर्दछ । हामी जनताको बीचमा हात जोडेर जान्छौं, जनताप्रति विश्वस्त हुनुपर्दछ । गठबन्धन भैसकेपछि गठबन्धनका दलहरुले कुन व्यक्तिले बेइमान ग-यो, कुन व्यक्तिले इमान्दारी देखाउन सकेन, त्यो तपशिलको कुरा हो । आम रुपमा गठबन्धनले एक ठाउँमा आइसकेपछि साझा उद्देश्य लिएर चुनावी मोर्चामा होमिइसकेपछि एक आपसमा विश्वासको वातावरण बनाउनुपर्दछ । विश्वास सिर्जना गर्नुपर्दछ । सारा संसार विश्वासमा अडिएको छ । स्थानीय चुनावमा के कति घटनाहरु भए त्यो घटनाहरुबाट हामीले पाठ सिक्नुपर्दछ । कुनै ठाउँमा राम्रो भएका छन् भने कुनै ठाउँमा नराम्रो पनि भएका छन् । कुनै ठाउँमा गठबन्धनले परिणाम ल्याएका छन् भने कुनै ठाउँमा परिणाम ल्याउन सकेका छैनन् । कहिलेकाहीं व्यक्ति विशेषको सोंच र व्यवहारले पनि यी कुरा भर पर्दछ । तर स्थानीय चुनावको परिणामलाई हेर्ने हो भने अहिलेको गठबन्धन भनेको अझै परिपक्व भएको हुनुपर्दछ । अहिलेको गठबन्धन वडाका प्रतिनिधि चुन्ने गठबन्धन होइन, यो आफ्नो सर्वोच्च विधायिकमा आफ्नो प्रतिनिधि पठाउने गठबन्धन हो । यसका युवा, विद्यार्थी, विद्धानवर्गले विचार पु-याउनुपर्दछ र पु-याउँदछन् भन्ने मलाई लाग्दछ ।


कांग्रेस नेताले बागी उम्मेदवारी दिएका छन् यसलाई कसरी लिनुहुन्छ भन्ने प्रश्नको उत्तरमा उनी भन्दछन्, “स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले प्राप्त गरेको परिणामले केही मानिसहरुमा उत्साह जागेको होला । तर दलिय व्यवस्थामा स्वतन्त्र उम्मेदवारको औचित्य रहँदैन । मानिसहरु धेरै दलिय व्यवस्थामा आबद्ध हुन्छन् । आफ्नो दलले दिएको नीति, निर्देशन र फैसलामा आधारित भएर नै राजनीतिक कार्यकर्ता राजनीति र निर्वाचनमा होमिएका हुन्छन् । अछाम जिल्लामा नेपाली कांग्रेसबाट को गठबन्धनको उम्मेदवार भयो भन्ने कुराले महत्व राख्दछ । को स्वतन्त्र भयो भन्ने कुराले खासै महत्व राख्दैन । तर मलाई विश्वास छ कि राजन कुँवर एकजना युवा, भोलि केही गर्न सक्ने क्षमता भएको मानिस र आफ्नो राजनीतिक जीवनलाई स्वतन्त्र उम्मेदवार भएर पार्टीको भोगाई खाएर, अब उहाँको दलले ५ वर्षको लागि कारवाही गर्दछ, राजनीतिक जीवनको लागि १० वर्षको कारवाही हुन्छ, उनी जस्तो पढेलेखेको युवाले यो कुरा राम्ररी बुझेको हुनुपर्दछ । शेर बहादुर जस्तो व्यक्ति उठेको छ, जनतासँग भिजेको, एकाकार भएको, चर्को नबोल्ने, कसैको आँखामा नबिझाउने, कहिले पनि चर्को नबोल्ने व्यक्ति जनताको बीचमा गएको छ । राजन कुँवरमा पछि मैले आवेशमा शेर बहादुरको विरुद्धमा उम्मेदवारी दिए पनि पछि शेर बहादुर कुँवरलाई समर्थन गर्नुपर्दछ भन्ने विचारमा उहाँमा आउने छ ।”


एमाले अध्यक्ष ओलीले एक्लै बहुमत ल्याउने दाबी गरिरहेकामा तपाईंको टिप्पणी के रहेको छ भन्ने प्रश्नको उत्तरमा उनी भन्दछन्, “गठबन्धनले दाबी गर्नु स्वभाविक हो किनकी गठबन्धन भित्र ५ वटा दल आबद्ध रहेको छ । हरेक दलहरुसँग आ आफ्नो शक्ति छ । त्यो समग्र शक्ति एक ठाउँमा राख्यो भने गठनबन्धन परिणाममुखी हुन्छ र आगामी सरकार गठबन्धनको बन्नेछ । जहाँसम्म एमाले अध्यक्ष केपी ओलीले दाबी गर्नुभएको छ, दाबी जसले पनि गर्न पाउँछ, दाबी निषेध हुँदैन, दाबीलाई निषेध गर्न सकिंदैन, तर उहाँको अनुकूलतामा यो निर्वाचनको परिणाम आउला भन्ने कसैलाई विश्वास छैन । किनकी उहाँ त आफ्नै सहकर्मीको अस्तित्व स्वीकार गर्नुहुन्न । इतिहासमा लामो समय काम गरेको व्यक्तिको अस्तित्व स्वीकार गर्नुहुन्न । तलदेखि माथिसम्मका पठाएका उम्मेदवारको व्यक्तिको नाम सुन्न चाहनुहुन्न । आफ्नै सहकर्मीलाई त उहाँले समेट्न सक्नुहुन्न भने आम जनताको भावना समेटेर आगामी वर्ष नेतृत्व गर्दछु भन्ने आफैमा एक खालको कमजोरी हो भन्ने मलाई महशुस भएको छ । दुई तिहाईको नेतृत्व त उहाँले लिइसक्नुभएको छ, अब के को लागि मत पाउने ? उहाँसंग मज्जासँग काम गर्न दुई तिहाई मत थियो । त्यो दुई तिहाई जोगाउन उहाँले सक्नुभएन ।


एमालेको राप्रपासँगको गठबन्धन त्यति सहज नहोला । राप्रपासँगको गठबन्धन त्यति प्राकृतिक नहोला जस्तो मलाई लाग्दछ । किनभने कुरा गर्ने क्रान्तिकारी, गठबन्धनलाई गाली गर्ने, आफू चाहिं अनेक किसिमका शक्तिहरुसँग गठबन्धन गर्ने । हृदयेश त्रिपाठी हिंजो पनि सूर्यबाट चुनाव लड्नुभएको थियो र आज पनि लड्नु भएको छ तर उहाँले सूर्यलाई स्वीकार कहिले पनि गर्नुहुन्न । उहाँले चुनाव जित्नको लागि मात्र सूर्य चिन्ह लिनुभयो । सूर्य चिन्हबाट जितेपछि नयाँ पार्टी बनाउनुभयो र अन्य पार्टीको औचित्य र भविष्यमाथि प्रश्न गर्ने व्यक्ति हो । यस्ता उदाहरण धेरै छन्, राप्रपा लडेको हो कि राप्रपा एमालेमा समाहित भएको हो ? म नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट चुनाव लडेको छु । मेरो चुनाव चिन्ह कलम हो । मसँगै चुनाव लड्नु भएका मेरै प्रदेश कका मेघराज खड्का रुखमा लडिरहनुभएको छ । अर्को क्षेत्रबाट झपटजी हसिया हतौडाबाट लड्नुभएको छ । हामी गठबन्धनबाट पनि आ–आफ्नो चुनाव चिन्हबाट चुनाव लडिरहेका छौं । समाजवादीले रुखलाई मत दिन्छ, हँसिया हतौडालाई पनि दिन्छ, हसियाँ हतौडा र रुखले कलमलाई पनि मत दिन्छ । यसलाई सही रुपमा गठबन्धन भनिन्छ । गठबन्धन भन्ने र एउटै चुनाव चिन्ह लिएर जाने यो दलिय व्यवस्था हो कि निर्दलीय ? गठबन्धन भित्रको फरक पनि आम जनताले छुट्याउनेछन् ।


२०३८ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा थालेका कुँवर २०६९ देखि २०७५ सम्म एमाले अछाम जिल्ला कमिटी अध्यक्ष थिए । आफू जिल्ला अध्यक्ष हुँदा २०७० र २०७४ को चुनाव पार्टीलाई जिताएको अनुभवको आधारमा पनि यो पटक आफू सजिलै विजयी हुने आत्मविश्वास उनी सुनाउँछन् । २०६४ यता लगातार जसो अछामबाट संघीय सांसद रहेका कुँवर यो पटक भीम रावल प्रतिस्पर्धामा भएको भए अप्ठ्यारोमा हुनेथिए । तर, एमालेले झपट बोहोरालाई टिकट दिएर कुँवरलाई सजिलो बनाइदिएको आँकलन अछाममा छ ।

प्रतिकृया