• ०६:३० २०८० फाल्गुन १२ गते
  • 6:30 am

आज र भोलि अतिरिक्त रेल सेवा सञ्चालन हुँदै

प्रकाशित मिति

२०७९ कार्तिक २२ गते, मंगलवार ११:३८

rail

२२ कार्तिक २०७९, धनुषा: जयनगर-जनकपुरधाम-कुर्था रेल सेवा मंगलबार र बुधबार अतिरिक्त समयमा पनि सञ्चालन हुने भएको छ । कात्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउन आउने तीर्थालुहरूको सुविधालाई मध्यनजर गर्दै नेपाल रेल्वे कम्पनीले कात्तिक २२ र २३ गते अतिरिक्त समयमा पनि रेल सञ्चालन गर्ने निर्णय गरेको हो ।


कात्तिक पूर्णिमामा कमला नदीमा स्नान गर्न ठूलो सङ्ख्यामा नेपाल र भारतबाट तीर्थालु आउने गरेका छन् । ‘जतिबेला यात्रु आउँछन् त्यतिबेला नै रेल चलाइहाल्छौँ। यात्रुको सुविधाकै लागि हामीले यस्तो निर्णय लिएका हौँ’, कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले भने ।


जयनगरबाट महोत्तरीको बर्दिबाससम्म ७० किलोमिटर निर्माणाधीन रेलमार्गमध्ये जयनगर-कुर्था अन्तर्गतको ३५ किलोमिटरमा २०७८ चैत २० देखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । रेल सञ्चालन भएसँगै यहाँ धार्मिक पर्यटक बढ्ने र स्थानीय उत्पादन निर्यात बढाउन सकिने स्थानीयवासीको विश्वास छ।


रेलामार्ग अन्तर्गत कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगरमा रेल्वे स्टेसन छन् । रेल सञ्चालनका लागि हाल २६ भारतीय र ५९ नेपाली कर्मचारी कार्यरत छन् ।


भारतीय कर्मचारीमा खासगरी चालक दलका र केही इञ्जिनियर रहेको प्रबन्ध सञ्चालक झाले जानकारी दिए ।

प्रतिकृया