• 5:02 pm

निर्वाचन बिथोल्ने गरी सामाजिक सञ्जालमा दुष्प्रचार नगरौँः प्रमुख आयुक्त थपलिया

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०५:०२

२१ कात्तिक २०७९, काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको स्वच्छतालाई दुष्प्रचार गर्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। सोमबार कलाकारहरुसँग निर्वाचन आयोगले गरेको अन्तर्क्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले ‘नो नट अगेन’बारे बोलिरहँदा कसैले पनि निर्वाचन र उम्मेदवारहरुप्रति लक्षित मिथ्या सूचना, चरित्रहत्यालगायतका दुष्परिणामयुक्त शब्दहरुको प्रयोग गर्न नहुनेप्रति सचेत हुन आग्रह गरेका हुन्।


उनले लोकतन्त्रको आडमा कसैको पनि चरित्रहत्या गर्ने कुरा स्वीकार्य हुन नसक्ने भन्दै घृणास्पद अभिव्यक्तिप्रति आयोग गम्भीर हुने बताए। प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनरुपी सुन्दर तलाउमा अध्याँरो कोठामा बसेर कसैले दुष्प्रचाररुपी ढुंगा हान्छ भने आयोगले पनि त्यसको अध्ययन र अनुसन्धान गरी कारबाही गर्ने चेतावनी दिए।


उनले नो नट अगेन, नो नेभर अगेन, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेनजस्ता शब्दहरु भन्नलाई आयोगले नरोकेको उल्लेख गर्दै यी कुराहरु भनिरहँदा सभ्य भाषाको प्रयोग गर्न सचेत गराए। उनले आयोगले नो नट अगेनबारे विज्ञप्ति जारी गर्दा सामाजिक सञ्जालमा निर्वाचनलाई बिथोल्ने असामाजिक किसिमका कुनै पनि कुराहरु राख्न नहुनेतर्फ मात्रै आम नागरिकहरुको ध्यानाकर्षण गराएको बताए।


उनले सामाजिक सञ्जालको प्रयोग सधैँ सकारात्मक कुरामा मात्रै प्रयोग हुनु जरुरी रहेको पनि बताए । अध्याँरो कोठामा बसेर निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न हुनुभन्दा समाजमा पुगेर आम नागरिकहरुलाई उम्मेदवारहरुको सही सूचना दिन अग्रसर हुन पनि उनले सुझाव दिए।


उनले भने, ‘लोकतन्त्र, निर्वाचन र अभिव्यक्ति स्वतन्त्रतासँग चरित्रहत्या गर्ने कुरा, मिथ्या सूचना दिने कुरा, दुष्प्रचार गर्ने कुरा र घृणास्पद अभिव्यक्ति दिने कुरा जोड्न हुँदैन। निर्वाचनको विषय जोडेर यी विषयसँग सम्बन्धित कुराहरुलाई राखेर, कसैलाई कुनै पनि किसिमले लाञ्छित गर्न पाइँदैन। अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौँ। कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो।’


उनले थपे, ‘तपाईंलाई उम्मेदवार मन पर्दैन भने घरबस्तीमै गएर जनतालाई सिकाइदिनुस्, किन अध्याँरो कोठामा बसेर ढुंगा हान्ने प्रयास गर्नुहुन्छ, उज्यालोमा नै जानुहोस्।’ उनले पछिल्लो समय निर्वाचन आयोगले आचारसंहिता कडाइ गरेका कारण निर्वाचनको माहोल नबनेको आरोप लाग्ने गरेको भन्दै आजबाट निर्वाचनको माहोल बनाउने कुरामा आयोग प्रतिबद्ध रहेको बताए।

प्रतिकृया