• १३:१६ २०८० फाल्गुन ११ गते
  • 1:16 pm

नेपालका सबैभन्दा धनी डलर अरबपति व्यवसायी विनोद चौधरी चुनावी दौडानमा

प्रकाशित मिति

२०७९ कार्तिक २१ गते, सोमबार ०५:३६

binod1

सुभाष कुँवर

२१ कार्तिक २०७९, काठमाडौँ: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अर्बपति व्यवसायी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी अहिले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी दौडधुप गरिरहेका छन् । यो दौडधुपमा उनले आफ्नो ‘फेवरेट’ रेञ्ज रोभर भने प्रयोग गरिरहेका छैनन् ।


सधैं सुट–बुटमा सजिने चौधरी कहिले पैदलै, कहिले तीनपांग्रे टुकटुके त कहिले कार्यकर्ताको मोटरसाइकलको पछाडि बसेर मतदाताको घरदैलोमा पुगिरहेका छन् । किसानको खेतमा गएर ट्रयाक्टर पनि चलाइरहेका छन् ।


उनी नयाँ शैलीसहित चुनावी प्रचार प्रसारमा लागेका छन् । खरबपति उनी मोटरसाईकलको पछाडी बसेर चुनावी प्रचारमा जुटेका छन् । घरदैलो अभियानकै क्रममा रहेका चौधरीले आफू जनताको घर आँगनमा रहेको बताए । उनले आफ्नो बल बुद्धिलाई समृद्ध देश, सुखी अनि खुशी नेपाली बनाउने शुत्रका साथ जनतामाझ समर्पित हुने बताएका छन् । देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई व्यावसायिक बनाउँदै किसानका समस्या हल गर्न आफू लाग्ने उनले बताए ।


सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘देशको मेरुदण्डको रुपमा रहेको कृषिलाई बढोत्तरी गर्दै किसानका हर समस्या समाधान गर्दै, बाटोघाटो, शिक्षा, स्वास्थ, कलकारखानामा समयसापेक्ष आमूल परिवर्तन गर्ने अठोटका साथ, आफ्ना जनता, साथिभाइ अनि दाजुभाइबीच उभिएको छु । धेरै हेर्‍यौँ र पर्खियौँ अब समृद्धि र विकासको सपना छिटैँ पूरा गरौँ । म जनताको साथमा,अनि देशको आमूल परिवर्तन हाम्रो साथमा ।’


उनी भन्दछन् सुनको थालमा चाँदीको चम्चाले खाएर हुर्किएको मान्छे हुन् भनेर कसैलाई भ्रम नपरोस् । “म सामान्य परिवारबाट आएको व्यक्ति हुँ। मेरो शिक्षादीक्षा पनि सामान्यरूपमै भयो । सरकारी स्कुलमै पढेर हुर्किएको हो म । रत्नपार्कबाट सार्वजनिक बस चढेर भक्तपुरको सरकारी स्कुलबाट स्कुले शिक्षा हासिल गरेको हुँ”, उनी भन्दछन् ।


उनका अनुसार राष्ट्र निर्माणमा महिलाको भूमिका महत्वपूर्ण हुन्छ । शिक्षा, स्वस्थ, रोजगारी, उद्यमशीलता, जस्ता अति आवश्यक अनि संवेदनशील क्षेत्रमा महिलाहरुको समान सहभागिता हुन सक्यो भने यो समाज साच्चिकै सुन्दर बन्ने कुरामा दुईमत छैन ।


चौधरी यसअघि पनि कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका थिए । नवलपरासीमा चौधरीका मुख्य प्रतिस्पर्धी हुन् जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी छन् । गत वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतअनुसार चौधरीले नवलपरासी–१ मा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीसँग कडा प्रतिस्पर्धा गर्नुपर्नेछ ।


उक्त निर्वाचनमा यो क्षेत्रमा एमालेले २६ हजार ७७९ मत पाएको थियो । त्रिपाठीको नेपाल प्रगतिशील पार्टीले ४ हजार ६८१ र जनता समाजवादी पार्टीले ३ हजार ५३९ मत पाएका छन् ।


त्यस्तै, कांग्रेसले ३० हजार ३४२, माओवादी केन्द्रले ५ हजार ३४७, एकीकृत समाजवादीले १ हजार १४१ र राष्ट्रिय जनमोर्चाले २६० मत पाएको थियो । यसअनुसार नवलपरासी–१ मा सत्ता गठबन्धनसँग ३७ हजार ७२ मत छ । यो आँकडा चौधरीको लागि अनुकूल देखिन्छ ।

प्रतिकृया