भक्तपुरको गठ्ठाघर स्थित कृषि विकास वचत तथा ऋण सहकारी संस्थाले सेवाग्राहीको रकम अनियमितता
प्रकाशित मिति
२०७९ कार्तिक १८ गते, शुक्रबार ०१:४२

१८ कार्तिक २०७९, काठमाडौँ : भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा गठ्ठाघरमा स्थित कृषि विकास तथा ऋण सहकारी संस्था लिमिटेडले विगत ३ महिनादेखि सेवाग्राहीहरुले जम्मा गरेको रकम भुक्तानी नगरी आलटाल गर्दै आइरहेको पीडितहरुले मातृभूमि न्यूजका प्रतिनिधिसँग कुराकानी गर्दा बताएका छन् ।
पीडितहरुका अनुसार बैंकका संचालक समितिका सदस्यहरुले फोन पनि उठाएका छैनन् । पीडित पक्षले नगरपालिकामा उजुरी गरेको र आवश्यक फाइल बुझाएकोे बताएका छन् । यदि समस्या समाधान नभए उनीहरु प्रहरीमा पनि उजुरी गर्ने प्रक्रियामा रहेको बताइएको छ । नगरपालिकाले संचालक समिति सदस्यहरुको सम्पत्ति कति छ त्यो हेर्नुपर्दछ भनेको छ । पीडितहरुका अनुसार संचालक समितिले पहिले दशैंपछि र पछि तिहार पछि जम्मा गरेको रकम भुक्तानी दिने बताए पनि अहिलेसम्म भुक्तानी नभएको पीडित पक्षको गुनासो छ । कार्यालयमा काउण्टर बन्द रहेको र स्टाफहरु मात्र रहेको पीडितहरुले बताए ।
उक्त सहकारीमा आफ्नो खाता भएको पीडितका अनुसार काउण्टर बन्द छ, सहकारीले वचतकर्ताको रु. १००० सम्म पनि भुक्तानी गर्न सकेको छैन । त्यहाँ जम्माजम्मी ४५०० जनाको खाता रहेको छ । करिब २८ देखि ३० करोड पैसा लिएर संचालक समितिका सदस्यहरु सम्पर्क विहीन रहेको उनीहरुले बताएका छन् । उक्त सहकारी संस्थाका अध्यक्ष तेज विक्रम थापासँग फोनमा सम्पर्क गर्न खोज्दा निजले फोन उठाएनन् । त्यसैगरी लेखा समिति संयोजक मीना प्रजापति, ऋण सम्बन्धी हेर्ने सुनिल श्रेष्ठ र कोषाध्यक्ष राजु तामाङसँग पनि सम्पर्क गर्न खोज्दा उनीहरुले कुनै जवाफ दिएनन् ।
यसरी विगतमा सुनिदैं आएको जस्तै उक्त सहकारीले पनि मानिसहरुको जम्मा गरेको पैसामाथि अनियमितता गरी सम्पर्क विहीन भएर सेवाग्राहीहरुलाई दुःख दिएका छन् । यस्ता घटना बारम्बार हुँदै आएकोले यस्तो घटना दोहोरिन नदिन सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ ।
प्रतिकृया