• १७:४३ २०८० चैत्र १६ गते
  • 5:43 pm

डिप्रेसनको कारण र यसबाट मुक्त हुने उपाय

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ०५:४५

depression

२९ आश्विन २०७९, काठमाडौँ: विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार डिप्रेसनको शिकार भएका मानिसहरुको संख्या विश्वको सम्पूर्ण जनसंख्याको १३.८ प्रतिशत अर्थात झण्डै २८ करोड छ । वर्तमान कालमा आएर मानसिक रोगका सफल र प्रभावकारी उपचार हुँदा हुँदै पनि गरीबीको रेखा मुनि रहेका मुलुकका ७.५ प्रतिशत भन्दा धेरै मानसिक रोगीले यथोचित उपचार पाएका छैनन् । विश्वकै परिप्रेक्ष्यमा हेर्ने हो भने पनि डिप्रेसन एक आम समस्या हो । तर जनचेतनाको दृष्टिले भने यो निकै पछाडि परेको छ । डिप्रेसनको शिकार भएका मानिसको राम्रो उपचारको कुरा त परै जाओस् तिनको पहिचान समेत हुन नसकेको अवस्था छ । यो सरुवा रोग नभए पनि यसले समाजमा उल्लेखनीय प्रभाव पारेको हुन्छ ।


परिचय

डिप्रेशन (Depression) अंग्रेजी शब्द भए पनि यो नेपाली समाजमा पचिसकेको र भिजिसकेको शब्द हो । उदासीनता, अवसाद, दिग्दारी, निराशा आदि डिप्रेशनलाई बुझाउने अनेक नेपाली शब्दहरू प्रयोगमा भए पनि यस लेखमा सरलता का लागि ‘डिप्रेशन’ शब्द कै अत्यधिक प्रयोग गरिएको छ । जीवनका कुनै न कुनै मोडमा हामी सबैले कम्तीमा पनि एक पटक आफूलाई अत्यन्त उदासीन तथा समस्याहरूका माखेसाङ्लामा घेरिँदै गएको र चिन्ताको माकुरीजालोमा जेलिँदै गरेको अनुभव अवश्य गरेका छौं । फेरि केही समयपछि त्यो उदासीनताबाट आफू विस्तारै सहज हुँदै गएको र पुनः सामान्य अवस्थामा फर्केको अनुभव पनि गरेका हुन्छौं । तर कहिलेकाहीं हामी स्वयं वा अन्य केही व्यक्तिहरूका जीवनमा निराशाका ती बादलहरू फाट्नुका बदला अरु घनीभूत बन्दै जान्छ र निराशा अरु गहिरो र हावी हुँदै जान्छ । अनि मन सामान्य घटनाले पनि उदासीन हुन थाल्छ र हामीले आफूलाई अनावश्यक रूपले असुरक्षित महसूस गर्न थाल्छौं । यो अवस्था दुई–तीन साता भन्दा पनि बढी समय सम्म रहिरह्यो भने त्यसलार्ई  डाक्टरी भाषामा डिप्रेसन भएको भनिन्छ ।


डिप्रेशन को समस्या नेपाल, भारत जस्ता अल्पविकसित मुलुकमा मौलाउदै गएको एउटा चुनौतीका रूपमा खडा भएको छ । हुनतः यसले सम्पूर्ण विश्वलाई गाँज्दै लगेको कुरा विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकले बताउँछ । तथ्यांक अनुसार विश्वको कुल जनसंख्या को करीब १३.८ प्रतिशत मानिस डिप्रेशनका शिकार भएका छन् । यो डरलाग्दो यथार्थ हो

मानसिक रोग र डिप्रेशन

डिप्रेशन पनि एक प्रकारको मानसिक रोग नै हो । तर अन्य मानसिक रोगहरूमा जस्तो पागलपन डिप्रेशनका रोगीहरूमा हुँदैन । डिप्रेशनका रोगीहरू उदास र सुस्त देखिन्छन् । डिप्रेशनको विषयवस्तुमा गम्भीरतासँग प्रवेश गर्नु भन्दा अगाडी मानसिक रोगका बारेमा समग्रमा सानो जानकारी लिनु उपयुक्त हुन्छ । भौतिक शरीर र चेतना मिलेर जिउँदो शरीर बन्छ । प्राणी जति चेतनशील हुन्छ उति नै मस्तिष्कको संरचना जटिल हुन्छ । मानिस सृष्टिको सबैभन्दा चेतनशील प्राणी हो । त्यो हिसाबले मानव मस्तिष्क पनि सर्वाधिक जटिल छ । जसरी भौतिक शरीरमा रोगव्याधि लाग्छ त्यसरी नै मानव मस्तिष्कमा पनि रोगव्याधि लाग्न सक्छ ।


डिप्रेसनको वर्गीकरण

उदासिनता अर्थात डिप्रेसन आधुनिक मानसिक रोगहरुको वर्गीकरणमा मूड डिस्आर्डर ९ःययम मष्कयचमभच० अन्तर्गत पर्दछ । मुड डिस्अर्डरका बारेमा सजिलोसँग बुझ्नका लागि यसलाई तीन समूहमा बाँडिएको छ ।

(क) युनिपोलार मुड डिसअर्डर (Unipolar Mood Disorder): यसमा मेजर डिप्रेसन डिस्अर्डर (Major Depressive Disorder, MDD)  र मिक्स्ड एन्जाइटी डिप्रेसन (Mixed Anxiety Depression) को सम्मिश्रण देखिन्छ । यस किसिमको डिस्अर्डरलाई रिकरेन्ट डिस्अर्डर पनि भनिन्छ । किनभने यसमा एकै प्रकारका डिप्रेशनका लक्षणहरु मात्र फर्की फर्की आउने गर्दछ । आनुवंशिकी (Genetic Hereditary) ले यसमा महत्वपूर्ण भूमिका खेल्छ । बढ्दा संवेदनशील व्यक्तिमा कुनै प्रकारको मानसिक वा शारीरिक आघात अथवा कुनै प्रियजनको आकस्मिक मृत्यु, परीक्षामा असफलता, व्यापारमा घाटा, जागिर छुट्नु एवं प्रेम तथा वैवाहिक जीवनमा असफल हुनु आदि कारणहरु घटित भए भने उ त्यस किसिमको पीडाबाट मुक्त हुन गाह्रो पर्दछ ।


(ख) बाइपोलार मूड डिस्आडर ( Bipolar Mood Disorder) : यस अवस्थामा रोगी कहिले डिप्रेशनको अवस्थामा पुग्छ भने कहिले मूड उच्च भएर हाइपोम्यानिया (hypomania) अवस्थामा पुग्छ । रोगीको अवस्था धेरै नै चक्र्यो भने रोगी म्यानियाक स्टेट (maniac state) वा बौलाहा अवस्थामा पुग्न सक्दछ । यहाँ रोगको लक्षण (clinical presentation) बेला बेलामा दुई अवस्था पुगेको देख्न सकिन्छ । कहिले डिप्रेशनको अवस्थामा त कहिले हाइपोम्यानियाको अवस्थामा ।


(ग) सेकेण्डरी डिप्रेशन (Secondary Depression): यस किसिमको डिप्रेशन हुनुका पछाडी अन्य शारीरिक कारणहरू वा व्यवहारहरू एवं मनोसामाजिक कारणहरू हुन सक्छन् । जस्तैः जाँडरक्सी धेरै खानु, लागु औषधिको सेवन गर्नु अथवा हाइपोथाइरोइडिज्म, मधुमेह, क्रोनिक हेपाटाइटिस, प्यानक्रियाटाइटिस, फोक्सोको क्यान्सर र कुनै पनि क्रोनिक (Chronic ) अर्थात् निको हुन गाह्रो पर्ने मेडिकल रोगहरू जस्तै : बाथ र पक्षाघात, जस्ता शारीरिक रोगहरू लाग्नु आदि ।


डिप्रेसनका कारणहरु

१. वंशानुगत कारण (Hereditary Factors)

यो एउटा महत्वपूर्ण कारण हो । हजुरबुबा, हजुरआमा या बाबुआमा मध्ये कसैमा मानसिक समस्या छ भने छोराछोरीमा यो रोग देखिने सम्भावना बढ्दता हुन्छ । मावलीतिरका मामा एवं आमाबहरु वा हजुरबुबा, हजुरआमा मध्ये कसैमा मानसिक समस्या भएमा पनि यो रोग हुने सम्भावना बढेर जान्छ । कहिलेकाहीं बाबुआमामा नहुँदा नहुँदै पनि भाइ वा बहिनीमा यो रोग देखिएको छ भने आफूमा पनि देखिने सम्भावना रहन्छ । यसरी वंशानुगत हिसाबले आफ्नो पारिवारिक इतिहासमा मानसिक समस्या भएको रहेछ भने रोग सर्ने सम्भावना महिलाहरुमा २० देखि २५ प्रतिशत र पुरुषहरुमा १० देखि १२ प्रतिशत रहेको पाइएको छ ।


२. बाल्यकालका अनुभव (Childhood Experiences)

बाल्यकालमै आमाबाबुबाट अलग भएर बस्नुपर्ने अवस्था भएका बच्चाहरुमा डिप्रेशनको समस्या देखा परेको प्रशस्त उदाहरणहरु छन् । त्यसैगरी बचपनको अवस्थामै शारीरिक मानसिक एवं लैंगिक हिंसाको शिकार बन्नुपर्ने अवस्थाले पनि विस्तारै उदासिनतातर्फ धकेल्न थाल्दछ । सानै कलिलो उमेरमा अवाञ्छित यौन सम्पर्क हुनु, अप्राकृतिक यौन दुराचारको शिकार हुन तथा अनेक किसिमका यौन उत्पीडनको शिकार हुनुपर्ने अवस्थाले पनि पछि गएर मानिसमा डिप्रेसन  अर्थात उदासीनताको समस्या ल्याउन सक्छन् । बाबुआमा र परिवारको झगडाले पनि बच्चालाई पछि उदासिन बनाउन सक्छ ।


३. व्यक्तिगत चरित्र (Personal Character):  हाम्रो आफ्नो जन्मजात स्वभाव वा चरित्रले पनि कहिलेकाहीं हामीलाई डिप्रेशनको स्थितिमा पुर्याइदिन्छ । निराशावादी विचारधाराको हुनु, आत्म– विश्वासको कर्मी हुनु, एउटै कुरा वा विषयमा बढ्ता सोचिरहने र चिन्तित हुने स्वभाव हुनु, स–साना कुरामा पनि रिसाइहाल्ने वा प्रभावित हुने चरित्र भएका मानिसहरू मानसिक रूपले बढ्ता संवेदनशील हुन्छन् । यस किसिमका मानिसहरूमा बाल्यकाल या किशोरावस्थामै नकारात्मक सोच हावी हुने गर्छ । तिनीहरू नै धेरैजसो नर्भस रहिरहने र बढ्ता आत्तिने डराउने गर्दछन् । तिनमा पनि डिप्रेशनको रोग लाग्ने सम्भावना बढ्ता हुन्छ ।


४. वातावरण (Environmental Factor) : मानिस तनाबमा हुनुका पछाडी वातावरणको पनि ठूलो हात हुन्छ । आफ्नो वरिपरि भएका घटनाहरू तथा समस्याका कारण यदि कसैले बढ्ता तनाब तथा दबावको अनुभव गर्छ भने पनि त्यो डिप्रेशन को कारण बन्न पुग्छ । आफूले असाध्यै मायाँ गरेको परिवारको कुनै सदस्यको आकस्मिक मृत्यु, कोही आफन्त हराउनु वा स्वयं कुनै ठूलो दुर्घटनामा पर्नु आदि कुराहरू मानिसलाई तनावमा लैजाने वातावरणीय कारण हुन् ।


५. सेरेब्रल एमाइन थ्यौरी (Cerebral Amine Theory) : दिमाग भित्र हुने रासायनिक पदार्थ जस्तै : सेरोटोनिन, नोरयफ्रिन, डोपामिन आदिको मात्रामा घटबढ हुने प्रक्रिया लाई सेरेब्रल एमाइन थ्यौरी भनिन्छ । आजभोलि यसलाई महत्वपूर्ण कारणको रूपमा हेरिन्छ र यिनै न्युरोट्रान्समिटरको असन्तुलनलाई सन्तुलनमा ल्याएर डिप्रेशनको रोगलाई चाँडो निको पार्ने हिसाबले विभिन्न एन्टीडिप्रेसेन्ट (Anti depressent) औषधिहरू को प्रयोग गर्ने चलन दिन प्रतिदिन बढ्दै गएको छ ।


डिप्रेशनका उपचार विधिहरु

हामीले यस लेखमा उठान गरेको विषय भनेको डिप्रेशन हो । डिप्रेशन मनोरोगको एउटा मुख्य समस्या हो । मनोचिकित्सा अन्तर्गत डिप्रेशनको उपचार त्रिकोणात्मक पद्धतिबाट सफल पार्न सकिन्छ । एन्टिडिप्रेसेन्ट औषधि काउन्सेलिङ तथा मनोचिकित्सा पारिवारिक र सामाजिक सहयोग ।

(१) उपयुक्त औषधि (Psychotropic Medicine)

(२) काउन्सेलिङ तथा मनोचिकित्सा (Counselling & Psychotherapy)

(३) पारिवारिक र सामाजिक सहयोग (Psychosocial support and Supervision)

यी तीनवटै को संयोजन मिल्यो भने रोगी चाँडो भन्दा चाँडो निको भएर पहिलेको जस्तै सामान्य अवस्थामा पुग्दछ ।


(क) एन्टिडिप्रेसेन्ट औषधि : डिप्रेसनबाट सञ्चो हुनका लागि दिइने औषधिहरू लाई एन्टिडिप्रेसेन्ट (Antidepressant) औषधि भनिन्छ । यी औषधिहरूले दिमागका नशाका जोडहरूमा सेरोटोनिन, नोरएफ्रिन र डोपामिन जस्ता रासायनिक पदार्थको असन्तुलनलाई सन्तुलनमा ल्याउने काम गर्छन् र डिप्रेशनका रोगीलाई निको पार्छन् । यी औषधिहरूको प्रथम समूह को नाम हो TCA -Tricyclic antidepressant । एस अन्तर्गत धेरै प्रयोग मा आउने


(क) पहिलो समूह का औषधिहरू मा Amitrytiline Imipramine, Clomepramine आदि पर्दछन् ।

(ख) दोस्रो समूह का औषधिहरू मा S.S.R.I.. (Selective Serotine Reuptake Inhibitor) हरू जस्तै Mitrazepine, Venlafexine, Trazodone, Bupropion, Duloxetine आदि औषधि पर्दछन् ।

(ग) तेस्रो समूह का औषधिहरूमा नयाँ एन्टीडिप्रेशेन्ट, Newer Anti–depressant औषधिहरू पर्दछन् । जस्तैः Mitrazepine, Venlafexine, Trazodone, Bupropion, Duloxetine आदि औषधि । १९५० को दशकबाट प्रयोगमा आएका एस किसिमका एन्टिडिप्रेसेन्ट औषधिहरूको समूह र संख्या दिन प्रतिदिन बढ्दै छ । नयाँ औषधिहरूले ८–१० दिन मै राम्रो रेस्पोन्स देखाउँछन् । यिनीहरूमा साइड इफेक्ट कम हुने र आत्महत्याको प्रयासमा पनि सुरक्षित हुने हुनाले आजभोलि समूह ख र ग का औषधिहरू बढ्ता प्रयोगमा छन् । शुरुशुरु को वैज्ञानिक सहमति के थियो भने एन्टिडिप्रेसेन्ट शुरु गरे पछि थोरैमा पनि ६–९ महिना सम्म खानु पथ्र्यो । तत्पश्चात् विस्तारै मात्रा घटाउँदै लगिन्थ्यो र ४–६ हप्तामा रोक्ने प्रथा थियो ।


मेडिकल उपचार पद्धति भन्छ कि एउटा एन्टिडिप्रेसेन्ट औषधि शुरु गरे पछि ४–६ हप्ता थेराप्युटिक मात्रामा प्रयोग गर्ने र रेस्पोन्स सकारात्मक नभएको अवस्थामा अर्को एन्टिडिप्रेसेन्ट शुरु गर्ने । ६–८ हप्ता मा सन्तोषजनक रिकभरी पछि मात्र औषधिको मात्रा हल्का हल्का सँग घटाएर न्युनतम उपचार विन्दुमा लामो समय सम्म राखेमा (ःबष्लतबष्लबलअभ त्जभचबउथ) डिप्रेसन पुनः फर्कने सम्भावना ज्यादै कम हुन्छ ।

एन्टिडिप्रेसेन्ट औषधि ले कुन समय मा काम गर्दैन ?

(i) औषधि को प्रयोग थेराप्यूटिक मात्रा मा नगरेमा ।

(ii) औषधि को प्रयोग डाक्टर को सल्लाह विना छिटै बन्द गरेमा ।

(iii) जाँड, रक्सी र लागू औषधि खान नछोडेमा ।


सावधान (Warning) : एन्टीडिप्रेशेन्ट औषधिहरू मनोचिकित्सक वा मनोविज्ञानविज्ञ को सल्लाह बिना प्रयोग गर्नु एवं गराउनु खतरनाक सिद्ध हुन सक्दछ ।

(ख) डिप्रेशन मा काउन्सेलिङ को प्रभाव : काउन्सेलिङलाई परामर्श सेवा भन्दछन् । डिप्रेशनको रोगी मानसिक रूपमा अस्वस्थ भएको थाहा पाउने बित्तिकै यथाशीघ्र मनोरोग विज्ञ वा अनुभवी फिजिसियनको सरसल्लाह र खोजखबर गरेर डिप्रेशनको सही निदानका साथै डिप्रेशनका प्रकारहरू छुट्ट्याएर औषधोपचार गरेको अवस्था मा ५० देखि ६५ प्रतिशत रोग एन्टिडिप्रेसेन्ट थेरापीबाटै रिकभर हुन सक्दछ ।

यसरी माथिका तथ्यबाट यो थाहा हुन आउँछ कि डिप्रेसन एक किसिमको मानसिक रोग हो र डाक्टरको परामर्श अनुसार उपचार गरेपछि मानिस पुरानै सामान्य अवस्थामा फर्केर आफ्नो दिनचर्या राम्ररी बिताउन सक्दछ । अझै पनि हाम्रो समाजमा मानसिक रोगलाई रोग नमान्ने परम्परा छ । शहर बजारमा मानिसहरु मानसिक स्वास्थ्य सम्बन्धी अलि जागरुक भए पनि गाउँघरमा यो चेतना आउन सकेको छैन । त्यसकारण शारीरिक रोग जस्तै मानसिक रोगको पनि अस्तित्व छ र उपचार पछि मानिस पुरानो सामान्य अवस्थामा फर्कन सक्दछ भनेर सरोकारवालाहरुले यस सम्बन्धमा सोची मानिसहरुलाई यस तर्फ जागरण फैलाउनु आवश्यक छ ।

उक्त लेख डा. देशराज बहादुर कँवरको पुस्तक डिप्रेसन ए टु जेडबाट साभार गरिएको हो ।

वरिष्ठ मनोचिकित्क प्राडा. देशराज बहादुर कुँवरद्धारा लिखित पुस्तक ‘डिप्रेसन A टु Z’ असोज ८ गते एक समारोह बीच काठमाडौंमा लोकार्पण भएको थियो । काठमाडौंमा एक कार्यक्रमका बीच श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरकोले र बिशिष्ठ अथिति डा. मृगेन्द्रराज पाण्डेको उपस्थितिमा पुस्तक विमोचन गरेका हुन् ।

सिम्का ल्याबोरेटोरिज प्रालिबाट प्रकाशित ‘डिप्रेसन A टु Z’ पुस्तक प्राडा. कुँवरले मानसिक समस्या र समाधानका उपायबारे चर्चा गरेका थिए । पुस्तक लोकार्पणपछि मन्त्री कुँवरले डिप्रेसनका कारण नेपाली जनजीवन नराम्ररो प्रभावित भएको बताए । जानकारी मूलक पुस्तकले डिप्रेशन के हो रु यो किन र कसरी हुन्छ रु यसको उपचार कसरी गर्न सकिन्छ रु भन्ने कुराहरुमा प्रकाश पारेको छ । अहिले धेरै मानिसहरु डिप्रेशनको शिकार भएको पाईन्छ अझ गाउँघर तिर डिप्रेशन भनेको के हो रु कस्तो बिरामीहरुलाई डिप्रेशन भनिन्छ रु कस्ता ब्यतिहरु डिप्रेशनको शिकार भएको छ रु भन्ने कुरा अझ राम्रोसँग बुझ्न आवश्यक रहेको डा. कुँवरले जनाएको थिए ।

प्राडा. कुँवरले डिप्रेसनबारे नेपाली भाषामा लेखिएका पुस्तकको अभाव महसुस गरी मनोचिकित्सकका रूपमा आफ्नो ५० वर्षे अनुभवलाई आधार बनाएर ‘डिप्रेसन ए टु जेड’ पुस्तक लेखेको बताएका थिए । प्राडा कुँवर हाल काठमाडौंको मेट्रो हस्पिटलमा वरिष्ठ मनोचिकित्सकका रूपमा कार्यरत छन् । उनी सैनिक अस्पतालको न्युरोसाइकियाट्री विभागका पूर्वप्रमुख पनि हुन् ।

“डिप्रेशन ए टू जेड” मा डक्टर देशराज कुँवरले आँफूले उपचारका क्रममा भोगेका अनेक घटनाहरूको दृष्टान्त दिएर सर्वसाधारण पाठक समेतले बुझ्ने भाषामा व्याख्या गरेका छन् । उक्त पुस्तक डिप्रेसनका बारेमा बुझ्न तथा डिप्रेसन रोगबाट पीडितहरुको लागि अत्यन्तै उपयोगी छ र एकपटक पढ्नै पर्ने पुस्तक रहेको छ ।


प्रतिकृया