१ वाणिज्य बैंक सहित ८ कम्पनीको लाभांश घोषणा
प्रकाशित मिति
२०७९ आश्विन ७ गते, शुक्रबार ११:१५
७ असोज २०७९, काठमाडौंः यो आर्थिक बर्ष सुरु भएसंगै अहिले विभिन्न कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिरहेको छन् । कतिपय कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट समेत लाभांश प्रस्ताव गरिसकेको छन् भने बीमा कम्पनीहरुले भने आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका हुन् ।
नेपाल स्टक एक्स्चेन्जमा सुचिकृत कम्पनीहरुमध्ये ८ वटाले चालु आर्थिक बर्षमा लाभांश घोषणा गरेका छन् । उनदेखि यता नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये ८ वटा कम्पनीले आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेका हुन् ।हालसम्म लाभांश घोषणा गर्नेमध्ये सबैभन्दा बढी बीमा समूहका कम्पनीहरु रहेका छन् । ८ वटा कम्पनीमा ४ वटा जीवन बीमा, २ हाइड्रो र १ उत्पादनमूलक क्षेत्रको कम्पनी र १ वाणिज्य बैंक रहेको छ ।
यो आर्थिक बर्षमा सबैभन्दा बढि लाभांश नेपाल ल्युब आयल कम्पनीले प्रस्ताव गरेको छ भने सबैभन्दा कम सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गरेको छ ।
कुन कम्पनीले कति लाभांश दिने :
१. सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुका लागि लाभांश प्रस्ताव गरेको छ । यो संगै सिटिजन्स बैंक इन्टरनेसनल लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ ।
बैंकको असोज ६ गते, विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
२. नेपाल ल्युब आयल
नेपाल ल्युब आयल निगमको असोज ४ गते बसेको सञ्चालक समितीको बैठकले कम्पनीको ३१ औं वार्षिक साधारणसभा आह्वान गर्नुका साथै सेयरधनीहरुका लाभांश प्रस्ताव गरेको छ ।
संचालक समितिको निर्णयानुसार वार्षिक साधारणसभा असोज २८ गते याक प्यालेस ललितपुरमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि २५ प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताप गरेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज १४ गतेदेखि असोज २८ गतेसम्म बुक क्लोज हुने भएको छ ।
३. अरुण काबेली पावर कम्पनी
अरुण काबेली पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते, आईतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजका लागि ०.५२ प्रतिशत नगद लाभांश सहित १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
४. नेशनल लाईफ इन्स्योरेन्स कम्पनी
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७८९ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
५. एसियन लाईफ इन्स्योरेन्स कम्पनी
एसियन लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको १४.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.७६ प्रतिशत नगद लाभांश गरि कुल १५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
६. नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो, भदौ ३० गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले १५ प्रतिशत नगद र सो नगदमा कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । बीमा समितिबाट स्वीकृत भएर आगामी वार्षिक साधारण सभा भएपश्चात् सो लाभांश वितरण गरिनेछ।
७. गुराँस लाईफ इन्स्योरेन्स कम्पनी
गुराँस लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ७.४४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.३९ प्रतिशत नगद लाभांश गरि कुल ७.८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
८. सानिमा माई हाइड्रोपावर
सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको भदौ २० गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ । कम्पनीले एघारौँ वार्षिक साधारण सभा कार्तिक २ गते बुधबार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिकृया