• 5:37 pm

ओलीको आक्रोश: जबराविरुद्धको महाभियोग ६ महिनासम्म चुपचाप लागेर राख्न मिल्छ?

प्रकाशित मिति

२०७९ आश्विन ६ गते, बिहीबार ०३:४८

६ आश्विन २०७९, काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् । बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई नभएको बताएका हुन् ।


ओलीले भने, ‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन, संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन । तर उहाँले गर्नुभयो । ६ महिनासम्म चेपेर राख्नुभयो ।’


उनले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा भएको बताएका छन्। ‘संसदले अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जान्छ। तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो’ उनले भने ‘यो सरकार खोपडीले सोच्दैन मसलले मात्रै सोच्छ।’

प्रतिकृया